स्ववियु निर्वाचन मर्यादिन हुनुपर्छ

परिवर्तनकारी नेपाली आन्दोलनमा महफ्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यार्थी अहिले स्ववियु निर्वाचनको तयारीमा जोडतोडले जुटेका छन् । विभिन्न दल नजिक मानिने विद्यार्थी संगठनहरूले जे– जसरी भए पनि चुनाव जित्ने महफ्वकांक्षा पालेका छन् । साम, दाम, दण्ड र भेद अपनाएर निर्वाचनलाई आफ्नो पक्षमा पार्न उनीहरू भिडन्तमा समेत उत्रन थालेका पाइन्छन् । केही वर्षअघिसम्म बुर्जुवा शिक्षा बहिष्कार भन्दै विद्यालय र कलेजहरू ध्वस्त बनाउँदै हिँडेका नेकपा–माओवादी र एमाओवादी नजिक अनेरास्ववियु क्रान्तिकारीका दुई पक्षबीच नै अहिले क्रान्ति सुरु भएको छ । एउटा पक्ष क्याम्पसमा ताला लगाउने र अर्को पक्ष उक्त ताला खोल्ने प्रतिस्पर्धा चल्दा विद्यार्थी घाइते हुन थालेका छन् । एमाओवादी नजिक विद्यार्थी संगठनले चुनाव जित्न रातारात भर्ना गरेका सैयौँ विद्यार्थीलाई मताधिकार दिन नहुने तर्क गर्दै नेकपा माओवादी निकट विद्यार्थी संगठनले कीर्तिपुर केन्द्रीय क्याम्पसमा लगाएको ताला खोल्न पुगेका अर्को क्रान्तिकारी विद्यार्थी संगठनका विद्यार्थी घाइते भए । ‘मिनी निर्वाचन’ को रूपमा लिने गरिएको विद्यार्थी निर्वाचमा दुई पक्षबीच उत्पन्न झगडापछि संविधानसभाको निर्वाचनमा पनि एमाओवादी र माओवादीबीच यस्तै झगडा हुन सक्ने ठानिएको छ । निकै लामो समयसम्म एउटै संगठनमा रहेर काम गरेका विद्यार्थी भिडन्तमा उत्रिए भने निर्वाचन नै भाँडिन सक्ने सम्भावना बढेको छ । यसलाई विद्यार्थी संगठनहरूले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ । यसबाहेक अन्य विद्यार्थी संगठनले पनि राजनीतिमा नलागेका विद्यार्थीलाई नपच्नेखालका कार्य गरिरहेका छन् । उक्त गैरजिम्मेवारपूर्ण कार्यहरू पनि रोक्नुपर्छ ।
विद्यार्थी निर्वाचनलाई भावि संविधानसभाको निर्वाचनसँग जोडेर हेर्ने गरिएकाले पनि विद्यार्थी आफ्नो संगठनलाई विजयी बनाउन जुनसुकै माध्यम अपनाइरहेका छन् । आफ्नो विजय सुनिश्चित गर्न रातारात सैयौँको संख्यमा गैरविद्यार्थी भर्ना गरिएका छन् । विद्यार्थीका लागि यो भर्ना अभियानले अहिले केही असर नगरे पनि भविष्यमा क्षतिपूर्ण नतिजा लिएर आउन सक्छ । विद्याको मन्दिरमा गैरजिम्मेवार बन्दै अमर्यादित र अवाञ्छित कार्य गरिँदा त्यसले पार्ने दूरगामी परिणाम पनि घातक हुने निश्चित छ । विद्यार्थीको पछिल्लो पुस्तालाई सहज र सरल वातावरण यी शिक्षा केन्द्रहरूमा नमिल्न सक्छन् ।  वास्तवमा अहिलेका विद्यार्थीले जे रोपे त्यो भविष्यमा फल्छ । यही कारणले गर्दा विष वृक्ष होइन अहिलेका विद्यार्थीले भविष्यका विद्यार्थीलाई सम्झिएर अमृत वृक्ष रोप्न सक्नुपर्छ । साँच्चैका विद्यार्थीका लागि अहिले क्याम्पस–क्याम्पसमा गर्दै गरिएका गतिविधिले चोट पुर्‍याएको हुनुपर्छ । किनभने विद्याको मन्दिर भनिएका यी क्याम्पसहरूमा गुन्डागर्दीको शैलीमा काम भइरहेका छन् । फर्जी मतदान गराउन विद्यार्थी संगठनहरू अहिल्यैदेखि तयारी गर्दै छन् । यो सोह्रैआना गलत कार्य हो । यसलाई जुनसुकै हालतमा सम्बन्धित निकायले रोक्नुपर्छ ।
२३ गते हुने चुनावका लागि विद्यार्थी अहिल्यैदेखि पाखुरा सुर्किएर बसेका छन् । उनीहरू बौद्धिकता, सौहार्दता, तर्क, सिद्धान्त र मेलमिलापलाई भन्दा पनि मूढता र गुन्डागर्दीतर्फ आकर्षित देखिन्छन् । निकै तामझामपूर्ण चुनाव हुने अवस्थालाई अहिले नै आँकलन गर्न सकिन्छ भने रकम पनि ठूलै खर्च हुने देखिन्छ । के पनि शंका गरिँदै छ भने कतै विद्यार्थी निर्वाचन रक्तपातपूर्ण हुने त होइन । यदि त्यसो भयो भने संविधानसभाको सम्भावित चुनावलाई समेत नराम्रो असर पुर्‍याउन सक्छ । तसर्थ, विद्यार्थीले स्ववियुलाई धाँधलीरहित र मर्यादित बनाउनुपर्छ । विद्यार्थीले आफ्नो नेता योग्य, इमान्दार, सक्षम र विद्यार्थी हक–हितका लागि समर्पित हुन सक्ने व्यक्ति छनोट गर्न पाउनुपर्छ । यसले मात्र स्ववियु निर्वाचनको गरिमा बढ्ने छ । अन्यथा कुनै ‘दादा’ लाई क्याम्पसको चावी बुझाउनुपर्ने हुन सक्छ । तसर्थ, विद्यार्थी वर्ग आफैँ सचेत, संयम र इमान्दार हुन जरुरी छ ।

प्रतिक्रिया