‘दलहरूकै कारण ढिलाइ’

काठमाडौं : युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले राजनीतिक दलहरूबीच सहमति हुन नसकेका कारण संविधानसभा चुनावको मिति घोषणामा ढिलाइ भइरहेको बताएका छन् ।
नेपाल स्वतन्त्र युवा संघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलीय सहमति हुन नसक्नु नै मिति घोषणा ढिलाइको प्रमुख कारण भएको बताएका हुन् । ‘थ्रेसहोल्ड, चुनावमा उम्मेदवारीलगायतका विषयमा विभिन्न दल र उच्चस्तरीय राजनीतिक समितिमै सहमति हुन नसक्नाले मिति घोषणा ढिलाइ भइरहेको छ,’ उनले भने ।
उनले दलीय सहमतिका लागि सरकार केही समय कुर्ने र त्यस अवधिमा पनि सहमति नभए सरकारले आफ्नै प्रक्रियाबाट मिति घोषणा स्पष्ट पारे । ‘चुनावका लागि आवश्यक पूर्वाधार खडा नगरी मिति घोषणा गर्दा अपरिपक्क हुने भएकाले सरकार अहिले दलहरूसँग वार्ता र छलफलमा छ,’ उनले भने ।
उनले चुनावमा बढीभन्दा बढी युवाको प्रतिनिधित्व हुन सके युवाको मुद्दा सम्बोधन हुने दाबी गर्दै युवाले दलको भारी बोक्न छाडेर आफ्नो क्षमताअनुरूप राष्ट्रिय राजनीतिमा आउनुपर्ने बताए ।
उनले तत्काल ऐन बनाउन नसकिए राष्ट्रिय युवा परिषद् गठन गर्ने सोचमा मन्त्रालय रहेको जानकारी पनि गराए ।

प्रतिक्रिया