आमा समूहको सक्रियतामा गाँजा नष्ट

तनहुँ, १० जेठ । तनहुँको जामुने–८ स्थित भैँसीखर्कका आमा समूहको सक्रियतामा गाउँमा रहेको करिब ३५ भारी गाँजाका बोट नष्ट गरिएको छ । बारीमा आफँै उम्रिएका गाँजाका बोट संरक्षण गरेर गाउँका युवाले सेवन तथा बिक्री गर्न थालेपछि गाउँभर रहेका गाँजाका बोट संकलन गरी आमाहरूले प्रहरीको रोहबरमा नष्ट गरेका हुन् ।
गाउँमा रहेका करिब ४० मध्ये २५ घरमा खेतीकै रूपमा रहेको गाँजा आमा समूहका महिलाले ३ दिन लगाएर संकलन गरेको गौरीस्वाँरा आमा समूहका अध्यक्ष देवीमाया काºलेले बताइन् । पछिल्लो समय गाँजाको खोजीमा गाउँमा
मोटरसाइकलमा नयाँ–नयाँ केटा आउने गर्न थालेपछि उनीहरू सो अभियानमा जुटेका हुन् ।
गाँजा नष्ट गर्न जाँदा गाई, बाख्रा, गोरुलाई औषधि हुन्छ भनेर गोडमेल गरेर राखेका गाँजाका बोट नउखेल्न धम्की दिए पनि कडा संघर्ष गरेर बोट नष्ट गरेको स्थानीय जुना थापामगरले बताइन् ।     स्थानीय आमा समूहको यो अभियानले समाजमा सकारात्मक सन्देश दिने प्रहरी निरीक्षक रेशमबहादुर श्रेष्ठले बताए । संकलित गाँजा प्रहरीले स्थानीयवासी र पत्रकारको रोहबरमा नष्ट गरेको हो । गाँजा नष्ट गर्न प्रहरीलाई करिब २ घन्टाभन्दा बढी समय लागेको थियो । जिल्लाका अन्य स्थानमा रहेका गाँजा खेतीलाई पनि नष्ट गर्न अभियान चलाइने प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया