आयुर्वेदिक औषधालय सहयोगीको भरमा

ताप्लेजुङ, १० जेठ । ताप्लेजुङको साँघु गाविसमा रहेको आयुर्वेद औषधालय एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । त्यस क्षेत्रका दर्जनाँै गाविसका सेवाग्राहीलाई सेवा दिन स्थापना भएको साँघु आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।
औषधालयका प्रमुख कविराज सुरेन्द्रप्रसाद चौधरीको गत असारमा सप्तरी जिल्लामा सरुवा भएको र सोही औषधालयका वैद्य राजेशकुमार यादव पनि दुई वर्षअघिबाट सरुवा मिलाई जिल्ला आयुर्वेद औषधालयमा बसेपछि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।
चार जनाको दरबन्दी रहेको औषधालयमा केही वर्षदेखि नै स्वास्थ्यकर्मी नबसेको स्थानीयवासीले गुनासो गरेका छन् । औषधालयमा स्वास्थ्यकर्मी नबसेपछि चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङ्लाबु, सान्थाक्रा, लिङ्तेप, खाम्लुङलगायत दर्जनाँै गाविसका सेवाग्राही सेवा लिनबाट वञ्चित भएका छन् ।
यता, औषधालय चिकित्सकविहीन भएपछि आफूहरूले सञ्चालन गर्नुपर्ने बाध्यता भएको कार्यालय सहयोगी बताउँछन् । हाल औषधालयमा मित्रलाल भट्टराई र शान्तिराम गौतम दुई जना कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।
कार्यालय सहयोगी मित्रलाल भट्टराईले रोग जाँच्न नआए पनि बिरामीले बताएको बिरामीको लक्षणका आधारमा औषधि दिने गरेको बताए । भट्टराईका अनुसार औषधालयमा जन्डिस, श्वासप्रश्वास, रुघा–खोकी, झाडापखाला, ग्यास्टिक, हातखुट्टा पोल्नेलगायतका बिरामी आउने गरका छन् । हिजोआज बिरामीको उच्च चाप हुने गरेको र औषधालयमा भने पर्याप्त औषधि नभएको उनले बताए । अहिले दैनिक १५ देखि २५ जनासम्म सेवाग्राही आउने गरेका छन् । गत आर्थिक वर्षमा दुई हजार ७ सय ७ जनाले सेवा लिएका र चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्ममा दुई हजार १ सय ६० जना सर्वसाधारणले सेवा लिएको सहयोगी भट्टराईले जानकारी दिए । उक्त औषधालय सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दूरीमा रहेको छ ।

प्रतिक्रिया