बेवकुफ रहेछौ भनेर गाली गर्नुभयो

Shyam-Ghimire०५४/५५ तिर होला, म प्लस टु अध्ययन गर्दै थिएँ । कलाकारिताको सानै देखिको रुची मेरो । त्यसैले कलाकारितालाई नै अगाडि बढाउन नृत्य निर्देशक राजु शाहको कल्चर सेन्टर राज श्री डान्स सेन्टरमा नृत्य प्रशिक्षणका लागि भर्ना भएँ । प्रशिक्षणकै क्रममा सुशील क्षत्री, दिलीप रायमाझीलगायतसँग कल्चरमै चिनजान भयो । यी कलाकारसँग जतिबेला मेरो चिनजान भयो त्यतिबेला यी सबै कोरस डान्सर थिए । प्रशिक्षणकै क्रममा राजु शाह सरमार्फत अशोक शर्मा दाइसँग भेट भयो । अशोक दाइ त्यतिबेला यो मायाको सागर चलचित्र निर्माणको तयारीमा हुनुहुथ्यो । यस चलचित्रमा उहाँले अभिनय गराउन खोज्नु भएको थियो । तर, त्यतिबेला नयाँलाई लिनु धेरै रिक्स भएर हो वा उहाँको निर्माताले असहमति जनाएर हो । चाहना हुँदाहँुदै पनि राख्नसक्नु भएन ।
त्यही समय होला । केही दिनपछि मलाई यादव खरेल दाइको फोन आयो । उहाँ ‘हत्तेरी’ चलचित्र निमार्णको तयारीमा हुनुहुन्थ्यो । उहाँले मलाई फोन गरेको मलाई विश्वास नै लागेन । म उहाँको आवाज फोनबाट प्रस्ट चिन्थेँ । फोनमा उहाँको आवाज चिनेकोले कुरा गरेँ । उहाँले प्राइम भन्ने स्टुडियोमा  बोलाउनुभयो ।  त्यतिबेला ममा हिरो बन्ने भुत सवार थियो । हिरो बन्नका लागि उहाँलाई भेट्न गएँ । म पुग्दा त्यही रोलका लागि पहिल्यै ९–१० जना पुराना कलाकार भेट्ने लाइनमा रहेछन् । मलाई अली अप्ठ्यारो लाग्यो । सबै पुरानाका अगाडि मैले चान्स के पाउँथे भन्ने लाग्यो । मनमा अनेक कुरा खेलाउन थाले । त्यहाँ स्क्रिन टेस्ट दिनुपर्ने रहेछ । सबैभन्दापछि मेरो पालो आयो ।
चलचित्र ‘नाता रगतको’ एक गीतमा काम गरिसकेको मलाई  स्क्रिन टेस्टमा कुनै कठिनाई भएन । स्क्रिन टेस्टमा भने अनुसारको राम्रो भए पछि यादव दाइले ‘नाता रागतको’ गीत हेर्ने विचार गर्नुभयो । अरुण मल्लले उहाँलाई गीत उपलब्ध गराइदिए । त्यो गीत हेरेपछि चलचित्र हत्तेरीका लागि म फाइनल भएँ । पहिलो भेटमै यादव दाइले मलाई चलचित्रका लागि फाइनल गर्नुभयो । चलचित्रका लागि फाइनल भए पछि घरमा फर्किएँ । सोचेँ कसले मेरो फोन नम्बर यादव दाइलाई दिएको होला । त्यो दिन त्यतिकै भयो । पछि बुझ्दै जाँदा थाहा भयो यादव दाइलाई मेरो सिफारिस अशोक शर्माले गर्नुभएको रहेछ ।
काठमाडौं होटेलमा चलचित्रको पहिलो दिनको सुटिङ थियो । सात बजे सुटिङमा मलाई बोलाइए पनि म चलचित्र अभिनय गर्ने खुसीले केही अगाडि पुगेँ । स्पोट पुगेको केही समयमा मेकअप पनि भयो । मेरो पहिलो सट कलाकार राजेश हमाल र पूजा चन्दसँग थियो । दुवै त्यतिबेला चलेका कलाकारमा पर्दथे । चलचित्र अभिनय पहिलो भए पनि कोरसमा काम गरिसकेको मैले कन्फिडेटका साथ टेक दिएँ । पहिलो सटमा डाइलग लामो थियो । टेक लिँदै जाँदा कहिले मेरो कारणले र कहिले प्राविधिकका कारणले तीन टेकमा ओके भयो । यादव दाइको फुक्र्याउने बानी नभएर होला सायद उहाँले मेरो अभिनयलाई ठीकै छ भन्नुभयो । राजेश दाइबाट प्रशंसा पाएँ । म फुरुङ हँुदै त्यो दिनको सुटिङ सकाएर घरतिर लागेँ । पहिलो दिन आफू छायांकनस्थल पुगेको समयभन्दा केहीढिलो काम सुरु भएकोले भोलिपल्ट एकघन्टा ढिलो सुटिङस्थल पुगेँ । त्यो दिन म पुग्दा सबै रेडी भइसकेको रहेछ । मेरै कारणले सुटिङ रोकिएको पनि पाएँ । मलाई देख्ने बित्तिकै यादवदाइले तिमी बेवकुफ रहेछौ भनेर गाली गर्नुभयो । त्यो गाली म अझै पनि सम्झने गर्छु ।
३०/३२ दिनको लगातारको सुटिङ पछि छायांकन सकियो । यो अवधीमा अभिनय बिगारेको कारणले मैले निर्देशक यादव दाइको त्यति धेरै गाली खानु परेन । त्यो चलचित्रमा ड्रेस डिजाइनरले नै ड्ेरसम्यानका रूपमा काम गरेका थिए । यसकारणले ड्ेरसका लागि टाउको दुखाइ रहनु परेन । चलचित्रको सिनमा आवश्यक ड्ेरस उपलब्ध हुन्थे । भन्नुपर्दा आधा दर्जन भेराइटीका ड्ेरस यसचलचित्रको अभिनय सिलसिलामा प्रयोग गरेँ ।
कतिपयले पहिलो चलचित्रमा
पारिश्रमिक नपाएको सुनिन्छ । मेरो हकमा त्यो लागू भएन । काम सुरु गर्नु पहिले जति भनिएको थियो त्यो पूरै पाएँ । अभिनय सकाए पनि चलचित्र तयार भएर रिलिजमा नआएसम्म हल्ला गरिनँ । भेटेका साथीभाइ र आफन्तसँग सामान्य कुरा हुन्थ्यो । किनभने म जुन कल्चरमा नृत्यको प्रशिक्षण लिन्थँे । त्यहाँका साथीहरू प्राय: सबै हिरो भइसकेका थिए ।
प्रविधिक कार्य सकाएर चलचित्र रिलिजको लागि तयार भयो ।  राम्रो ब्यानरमा बनेकोले प्रचारप्रसार पनि ठूलै भयो । एक त यादव खरेलको चलचित्र अर्काे प्रचारप्रसार पनि धेरै । चलचित्र राम्रो चल्छ भन्ने मलाई लागेको थियो । त्यतिबेला अहिलेको जस्तो एकै समयमा धेरै चलचित्र प्रदर्शनमा आउँदैनथ्यो । जुन चलचित्र लाग्थ्यो धेरैलाई थाहा हुन्थ्यो । तैपनि, चलचित्र प्रदर्शनमा आएपछि साथीभाइ आफन्त सबैलाई सुनाएँ । पहिलो चलचित्र भएकोले ममा निकै उत्साह थियो । अघिल्लो दिनको रात अबेरसम्म निदाउन पनि सकिनँ ।  भोलि चलचित्र लाग्दै छ के हुने हो, मेरो अभिनयलाई के भन्ने हुन् आदि इत्यादी कुरा मनमा खेलिरह्यो । प्रचार सामग्री पोस्टर, प्रोमोलगायतमा मेरो पनि चित्रहरू थिए । त्यसैले दर्शक कति छन्, मेरो अभिनयलाई के भन्छन्, मलाई चिन्छन् कि चिन्दैनन् बुझ्न हरेक हलमा पुग्थेँ । चलचित्रले ठीकठीकै व्यवसाय गरे पनि मैले भने मनग्य चर्चा पाएँ । यो चलचित्रपछि मैले ‘ग्रहण’मा काम गरेँ । त्यसपछि फेरि ‘म दादा’ र अहिले आएर ‘स्टार’मा काम गरेको छु । त्यतिबेलादेखि अहिलेसम्म मैले आधादर्जन चलचित्रमा काम गरेँ भने कान्तिपुर, नेपाल टिभी, नेपाल वानलगायत टेलिभिजनका दर्जनौं छोटा तथा धारावाहिक शृंखला पनि । यी सबैमा काम पाउनुको श्रेय म पहिलो चलचित्र ‘हत्तेरी’लाई नै दिन्छु । (सौस)

प्रतिक्रिया