हत्यारानजिक पुगेको प्रहरीको दाबी

Sadrul Minya Hakराजविराज, ९ जेठ । पूर्वसभासद् सदरुल मियाँ हकको हत्याबारे छानबिन गर्न सरकारका तर्फबाट गठित समितिले काम सुरु गरेको छ । नेपाल प्रहरीका एआइजी दिनकरशमशेर राणाको संयोजकत्वमा रहेको समितिले बुधबार बिहानदेखि स्थानीय प्रशासन र सर्वसाधारणको सहयोगमा काम थालेको हो । पूर्वसभासद् हकको हत्यापछि मंगलबार गृह मन्त्रालयले एआइजी राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिका सदस्यसहित सप्तरीका सिडिओ हरिकृष्ण पौडेल, एसएसपी भोगबहादुर थापा, एसपी सञ्जयसिंह बस्नेत, सशस्त्र प्रहरीका एसपी वेचन यादवलगायतको टोली बिहानैदेखि घटनास्थलमा खटियो । यसअघि मंगलबार तालिमप्राप्त कुकुर ल्याई आवश्यक छानबिन भएको र कुकुरका माध्यमले हत्याराको खोजबिनमा महत्त्वपूर्ण सुराक प्राप्त गरेको प्रहरीले जनाएको छ ।
‘प्रहरीले धेरै सुराक पत्ता लगाएको छ,’ सप्तरीका डिएसपी श्यामसिंह चौधरीले भने, ‘१/२ दिनभित्र हत्यारा पक्राउ गर्ने गरी हामीले काम गरिरहेका छौँ ।’ कुकुरले दिएको सुराकका आधारमा प्रहरीले ठूलो सफलता पाइसकेको उल्लेख गर्दै चौधरीले प्रहरीको सक्रियता अझ बढेर गएको जानकारी दिए । कुकुरलाई बुधबार बिहान फिर्ता पठाइएको छ ।
मृतकका परिवारजनले भने हत्यामा स्थानीयकै संलग्नता रहेको आशंका गरेका छन् । घटनाको प्रकृति हेर्दा बाहिरी व्यक्तिबाट योजनाबद्ध आक्रमण नभई स्थानीय व्यक्तिले नै हकको हत्या गरेको हुनसक्ने भाइ मोहम्मद जिवरीलले बताए । बाहिरी व्यक्तिसँग कसैसँग रिसइबी थाहा नपाएको उल्लेख गर्दै उनले भने, ‘यदि त्यस्तो भएको भए रातको समयमा चक्कुले नभई बन्दुक र गोली प्रयोग हुने थियो ।’
पूर्वसभासद् विसेन्द्र पासवानको संयोजकत्वमा गठित सात सदस्यीय स्थानीय वार्ता टोली र प्रशासनको सहमतिमा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगी

शवको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ । सप्तरीवासीको मागअनुसार शवलाई हनुमाननगर, राजविराज, रूपनीलगायत स्थानमा घुमाउँदै पुन: कल्याणपुरमै पुर्‍याइएको छ । कल्याणपुर–२ स्थित आºनै हुमा पेट्रोल पम्पको एक कोठामा सुतेका हक बिहान ८ बजे मृत फेला परेका थिए ।
दोषीले उन्मुक्ति पाउँदैन : गृह मन्त्रालय
यसैबीच सरकारले पूर्वसभासद् हकको हत्याको घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिँदै छानबिन गर्न एआइजीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले स्थलगत रूपमै कार्य थालेको जनाएको छ ।
लोकप्रिय राजनीतिज्ञका रूपमा रहेका पूर्वसभासद् हकको कायरतापूर्ण तवरबाट गरिएको हत्यामा संलग्न दोषीहरू पत्ता लगाई कानुनी कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने हुँदा अपराधको समग्र अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्न सरकार दृढ रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रले एक इमानदार राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा शोकको यस घडीमा सम्पूर्ण मुस्लिम समुदाय एवं शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । चाँडै घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कडा कारबाही गरिने हुँदा लामो समयसम्म सर्वसाधारणको आवागमनमा अवरोध नगर्न, राजमार्गमा यातायात सुचारु हुने वातावरण निर्माण गर्न र संयमित भई अनुसन्धानको नतिजा पर्खिन मन्त्रालयले आग्रह गरेको छ ।
हत्याराको विरोधमा राजमार्ग अवरुद्ध
पूर्वसभासद् सदरुल मियाँ हकको हत्याबाट आक्रोशित स्थानीयवासीले बुधबार दोस्रो दिन पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
तत्काल घटनाको छानबिन, मृतकलाई सहिद घोषणा, हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखी उनीहरूले ठाउँ–ठाउँमा सडक अवरुद्ध पारेका हुन् । उनीहरूले रूख ढालेर, टायर बालेर तथा मुढा तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।
स्थानीयवासीको विरोध प्रदर्शनका कारण यातायात बन्द हँुदा सयौँ सवारीसाधन र तिनमा यात्रा गर्ने हजारौँ यात्रु अलपत्र परेका छन् । हत्याको विरोधमा बुधबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत प्रमुख बजार बन्द भए । स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गर्दै हत्यारालाई कारबाहीको माग गरिरहेका छन् ।
अज्ञात समूहले मंगलबार बिहान हत्या गरेका हकको परिवार विक्षिप्त अवस्थामा छ । मृतककी आमा हलिमा खातुन र पत्नी नुरजहान अर्धचेत अवस्थामा रहेको स्थानीय अयुव राइनले जानकारी दिए । ५ दाजुभाइमध्येका जेठा हकका २ छोरा र ३ छोरी छन् । पेट्रोल पम्प, स:मिल, इँटाभट्टालगायत व्यवसाय सञ्चालन गरेका हक ०६४ सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया