घट्न थाल्यो सहकारी दर्ता

divijan-sahakari-officeकाठमाडौं, ८ जेठ । पछिल्लो समयमा सहकारी दर्ता घट्न थालेको छ । कार्यक्षेत्र सीमा, स्थानीय सेयर सदस्य संख्या, पूर्व शिक्षा सहकारी तालिमको व्यवस्था र संस्थागत सहकारी खोल्नमा रोक लगाएपछि दर्ता विस्तारै घट्दै गएको हो । उपत्यकामा बचत तथा ऋण सहकारी दर्ता प्रक्रियामा कडाईसँगै अन्य विषयगत सहकारी दर्ता गर्नेक्रम पनि घटेको छ ।
घर–घरमा सहकारी संस्था स्थापना हुनेक्रम अत्यधिक बढेपछि दर्ता प्रक्रियालाई निरुत्साहित गर्न नयाँ मापदण्ड जारी भए पश्चात् सहकारी दर्तामा कडाइ गरिएसँगै दर्ता हुने क्रम पनि घटेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । मापदण्ड जारी हुनुभन्दाअघि मासिक ५० देखि ६० वटासम्म सहकारी दर्ता हुने गरेकोमा हाल पाँचदेखि आठ वटासम्म दर्ता हुने गरेको शर्माले बताए ।
हाल बचत/ऋण सहकारी दर्ता गर्दा उपत्यकाका महानगरपालिका तथा उपमहानगरपालिका भए १–१ वडा कार्यक्षेत्र, नगरपालिका भए २ वडा तथा गाविसको हकमा १ मात्र गाविस पाउने प्रावधान तोकिएको छ ।  मापदण्डमा  सहकारी खोल्न त्यस कार्यक्षेत्र भित्रका एकै परिवारदेखि बाहेकका २५ जना स्थानीय नागरिक तथा जग्गाजमिनको लालपूर्जा भएका सेयर सदस्य हुनुपर्ने प्रावधान  छ  ।
यसअघि यस्तो प्रावधान नहुँदा एकै परिवारका मानिस मिलेर सहकारी खोल्ने क्रम थियो । अन्य विषयगत सहकारीको हकमा पाँच वटासम्म कार्यक्षेत्र लिन सकिने प्रावधान भए पनि प्रत्येक वडाबाट २५ सदस्यका दरले १ सय २५ जना सेयर सदस्य भएपछि मात्रै संस्था दर्ता हुने गरेको छ । स्थानीय एउटै वडाका २५ जना सेयर सदस्य तथा तीन वटा कार्यक्षेत्र भएकाले स्थानीय ७५ जना सेयर सदस्य जम्मा पार्न गाह्रो हुने भएकाले सहकारी दर्तामा कमी आइरहेको कार्यालयले जनाएको छ ।
हाल देशभर २७ हजार सहकारी स्थापना भएका छन् । सहरबजारमा सहकारीको दर्ता क्रम घटे पनि ग्रामीण क्षेत्रमा भने सहकारी खुल्ने बढेको छ । ग्रामीण भेगका मानिसले पनि सहकारीको महत्त्व बुझेकाले यसको संख्या बढ्दै गएको हो । बचत तथा ऋण, कृषि, चिया, कफी, अलैँची, अदुवा, दुग्ध, तरकारी तथा फलफूललगायत सहकारी संस्था खुल्ने बढ्दो क्रममा रहेको सहकारी विभागले जनाएको छ ।

प्रतिक्रिया