जापानमा नेपाली लोक्ता निकासी

loktaइलाम, ८ जेठ । वन जंगलमा खेर गइरहेको लोक्ताबाट जापानी पैसा(येन) बनाउन प्रयोग हुन थालेपछि इलामका विभिन्न गाउँबाट यसको माग बढ््न थालेको छ ।
लोक्तालाई तातो पानीमा उमालेर बनाइएको गुणस्तरीय रेसादार लोक्ताको कागज काठमाडौँ हुँदै येन बनाउनका लागि जापान निकासी हुन थालेपछि व्यवसायी उत्साहित हुन थालेका हुन् ।
माईमझुवा–७ का ओम गुरुङले जापानी येन बनाउन उपयुक्त लोक्ता काठमाडौंको कानपोउ कम्पनीमार्फत जापान निर्यात गरिरहेको बताए । येन बनाउनका लागि प्रयोग गरिने लोक्ता प्रतिकिलो तीन सय ६० भन्दा बढीमा बिक्री हुने गरेको गुरुङ बताउँछन् ।
‘मैले लोक्ताको प्रशोधन गरी विदेश निर्यात गर्न थालेपछि छिमेकीहरू पनि लोक्ता बिक्री गरिदिन भन्दै घरमा आउने गरेका छन्,’  गुरुङ भन्छन् । यहाँका किसानले यो वर्ष करिब दुई सय टन लोक्ता जापान निर्यात गरी डेढ करोड रुपियाँ आम्दानी गरेको बताए ।
तीस रोपनी जग्गामा व्यावसायिक रूपमा लोक्ताको खेती गर्नुभएका गुरुङ आफूले कानपोउ कम्पनीमार्फत जापानी येन बनाउने गुणस्तरको पाँच क्विन्टल लोक्ता बिक्री गरिसकेको जानकारी दिए ।
उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका राजबहादुर राईले किसानले नम्बरी जग्गामा समेत लोक्तासहित अन्य जडीबुटी खेती गरेको बताए । जमुना, मावु, जोगमाई, गोर्खे, नयाँबजार, प्याङ, माइमझुवा, माईपोखरी, सुलुबुङ, सुम्बेक, पुवामझुवा, चमैता, साँखेजुङ किसानले व्यावसायिक रूपमा लोक्ताखेती गर्दै आएका छन् । जापानी येन बनाउन प्रयोग हुने लोक्ता यहीँबाट प्रशोधन भएर जापान निर्यात गरिन्छ । यो वर्ष माईमझुवामा मात्रै सात सय मनभन्दा बढी लोक्ता उत्पादन भएको स्थानीय अगुवा जडीबुटी किसान जीतबहादुर राईले जानकारी दिए । आफूले आठ मन लोक्ता उत्पादन गरी एक लाख ६० हजार आम्दानी गरेको राईको भनाइ छ ।
अहिले नेपाली कागज बनाउने उद्योगले लोक्ता ७० प्रतिकिलोका दरले खरिद गर्ने गरेका छन् । लोक्ताको व्यावसायिक खेती थालेपछि जिल्लाका विभिन्न ठाउँमा लोक्ताबाट नेपाली कागज बनाउने घरेलु उद्योग खुलेका छन् । नेपालमा लोक्ताबाट नेपाली कागज तयार पारिन्छ । यसरी तयार पारिएका नेपाली कागज सरकारी लिखत राख्ने, अंशवण्डा, कागज र खाम बनाउनेलगायतका काममा प्रयोग हुने गरेको छ । यस्तै आजभोलि प्रमाणपत्रका रूपमा समेत नेपाली कागज प्रयोग हुन थालेका छन् ।

प्रतिक्रिया