शिखरमा साउदी युवती

Daudi_woman_on_eveसर्वोच्च शिखर सगरमाथा चढेर थुप्रैले थुप्रै रेकर्ड राखिसके । विश्वका प्रत्येक हिमआरोहीको अन्तिम लक्ष्य एउटै हुन्छ– सबैभन्दा अग्लो ठाउँमा उभिएर संसार नियाल्नु । प्राय: विकसित देशका कुनै न कुनै नागरिकले सगरमाथा चढिसकेका छन् । जापानकी जुनको तावेईले चुचुरो टेक्ने सफलता पाएपछि नारीपाइलाले पनि सगरमाथामामाथि विजय गरे । त्यसपछि थुप्रै नारीले यो सफलता पाइसके ।
तर, कट्टर मुस्लिम राष्ट्र साउदी अरबबाट केही दिनअघिसम्म कुनै पनि नारीका पाइला सगरमाथा चुचुरोमा पुगेका थिएनन् । नारीलाई घरको चौघेरामा मात्र सीमित राख्ने परम्परावादी सोचले साउदी अरबी नारीलाई यो अवसरबाट वञ्चित पारिराखेको थियो । तर, अब इतिहास फेरिएको छ । साउदी अरबकी २५ वर्षीया राहा मोहर्रकले भर्खरै सगरमाथा चुचुरो टेकेकी छन् । यससँगै उनले परम्परालाई पनि जितेकी छन् । सगरमाथा शिखरमा पाइला टेक्ने पहिलो साउदी अरबी महिलाका रूपमा आफ्नो नाम दर्ज गराएकी छन् । यति मात्र होइन, साउदी अरबका तर्फबाट सबैभन्दा कम उमेरमा सर्वोच्च चुचुरोमा पुग्ने नागरिक पनि उनै भएकी छन् ।
राहा चारदस्यीय दलमा मिसिएर सगरमाथा आधारशिविरबाट चुचुरोतर्फ हान्निएकी थिइन् । उनको दलमा सामेल फिलिस्तिन र कतारका नागरिक पनि आआफ्नो देशका तर्फबाट सगरमाथा शिखर चुम्ने पहिलो नागरिक बनेका छन् ।
यो आरोहण अभियानको लक्ष्य नेपालमा शिक्षासम्बन्धी कार्यक्रमका लागि दश लाख डलर संकलन गर्नु रहेको थियो । मूल रूपमा साउदीको जेद्दाकी बासिन्दा राहा अहिले दुबईमा बस्छिन् । स्नातकसम्मको अध्ययन पूरा गरेकी छन् । उनको आरोहण दलका सदस्यका अनुसार साउदी अरबजस्तो रूढीवादी मुस्लिम मुलुकनिवासी राहाले आफ्नो लक्ष्य हासिल गर्न थुप्रै बाधाव्यवधान पार गर्नुपरेको थियो । साउदी समाजले महिलालाई जीविकाका लागि अत्यावश्यक पर्ने सीमित अधिकार मात्र दिर्ने गर्छ ।
उनीहरूको अभियानसम्बन्धी वेबसाइटमा उल्लेख भएअनुसार पर्वतारोहणका लागि परिवारको अनुमति पाउनु राहाका लागि एक्लैले विशाल पहाड फुटाउनुभन्दा बढी चुनौतीमूलक थियो । यद्यपि अहिले उनको परिवार छोरीको सफलताका निम्ति निकै खुसी छ । उनलाई समर्थन गरिरहेछ । राहा भन्छिन्– ‘मेरा लागि सबैभन्दा पहिलो हुनुले तबसम्म कुनै अर्थ राख्दैन जबसम्म यो सफलताले कुनै अर्की साउदी केटीलाई दोस्रो सगरमाथा आरोही हुन प्रेरित गर्दैन ।’ (एजेन्सी)

प्रतिक्रिया