एकमुष्ट भर्ना खारेजीको माग गर्दै तालाबन्दी

काठमाडौं, ७ जेठ । नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि गरिएका एकमुष्ट विद्यार्थी भर्ना खारेजीको माग गर्दै क्याम्पसहरूमा तालाबन्दी गर्न थालेको छ ।
अन्य विद्यार्थी संगठनले चुनाव जित्नका लागि अवैध रूपमा एकमुष्ट भर्ना गरेकाले खारेज हुनुपर्ने माग गर्दै क्रान्तिकारीले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तालाबन्दी गरेको हो । आरआरमा बिहान ९ बजे र त्रिवि केन्द्रीय क्याम्पसमा दिउँसो २ बजे क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको क्रान्तिकारी अध्यक्ष शरद रसाइलीले जानकारी गराए ।
आरआरमा क्रान्तिकारीको क्याम्पस एकाइले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ भने त्रिविमा पनि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ । क्रान्तिकारीले स्ववियु चुनावका लागि अवैध रूपमा एकमुष्ट भर्ना गरिएका विद्यार्थी चुनावमा भाग लिन नपाउने भन्दै पढाइबाट भने वञ्चित नगर्ने जनाएको छ । एकमुष्ट भर्नाले चुनाव जित्नका लागि लाखौँ रकम खर्च गर्दै आएको स्ववियु झनै भ्रष्टाचारको अखडा हुने भन्दै क्रान्तिकारीले अवैध भर्ना खारेजीको माग गरेको हो ।
अध्यक्ष रसाइलीले एकमुष्ट रूपमा गरिएका विद्यार्थी भर्ना खारेज नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । ‘रातारात एकमुष्ट फर्जी विद्यार्थी भर्ना गरिएका छन्’ उनले भने, ‘ती एकमुष्ट भर्ना खारेज गराउनका लागि ताला लगाइएको हो । भर्ना खारेज नभएसम्म ती क्याम्पसमा चुनाव हँुदैन ।’
एकीकृत माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र एमालेनिकट अनेरास्ववियुले त्रिवि केन्द्रीय क्याम्पस र आरआर क्याम्पसमा चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि रातारात एकमुष्ट भर्ना गरेका थिए । ती विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस, महेन्द्ररत्न ताहाचल, त्रिचन्द्र क्याम्पस, सानोठिमी क्याम्पस, पब्लिक युथ क्याम्पसमा पनि अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघले रातारात लाखौँ खर्च गरेर फर्जी विद्यार्थी भर्ना गरेका थिए ।
नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले एकमुष्ट रूपमा भर्ना गरिएका अन्य क्याम्पसमा पनि ताला लगाउने जनाएको छ । उक्त विद्यार्थी संगठनले आइतबार एकमुष्ट भर्ना खारेजीको माग गदै त्रिवि केन्द्रीय क्याम्पस र आरआर क्याम्पसमा ज्ञापनपत्र बुझाएको थियो । अनेरास्ववियु र नेपाल विद्यार्थी संघ एकमुष्ट भर्ना खारेज गर्न सकारात्मक देखिए पनि एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले भने असहमति जनाएको छ ।
त्रिविमा पटकपटक गरी अनेरास्ववियु क्रान्तिकारीले सात सय, अनेरास्ववियु र नेविसंघले तीन सयको संख्यामा एकमुष्ट भर्ना गरेका थिए । यस्तै आरआरमा अनेरास्ववियु क्रान्तिकारीले चार सय र अखिलले दुई सय एकमुष्ट भर्ना गरेका थिए ।
एकमुष्ट भर्नामा आज सहमति खोजिने
एकमुष्ट भर्नाका कारण विवाद उब्जिएपछि त्यसको समाधानका लागि विद्यार्थी संगठनबीच आज छलफल हुने भएको छ । विद्यार्थी संगठनबीच एकमुष्ट भर्ना खारेजी गर्ने बिषयमा छलफल हुन थालेको हो । नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले एकमुष्ट भर्ना खारेज नभए चुनाव हुन नदिने चेतावनी दिएपछि सहमतिको खोजीका लागि विद्यार्थी संगठनहरू छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया