शिक्षकको परीक्षाले विद्यालय बन्द

बर्दिया : शिक्षकहरू स्थायी बन्नका लागि शिक्षक सेवा आयोगले लिने परीक्षाको तयारीमा जुटेपछि बर्दियाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । आयोगले यही जेठ ९, १० र ११ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेपछि शिक्षकहरू विद्यालय जान छाडेर आफ्नै परीक्षाको तयारीमा लाग्दा पाँच दिन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गरिएका हुन् ।
पेसागत शिक्षकहरूको छाता संगठन शिक्षक युनियनले सोमबारदेखि जिल्लाका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको युनियनका जिल्ला अध्यक्ष नवराज ढुंगानाले जानकारी दिए । अध्यक्ष ढुंगानाले नयाँ शैक्षिक सत्र भर्खर मात्र सुरु भए पनि शिक्षकहरू बिदा माग्दै विद्यालय आउन छाडेपछि अहिले दिएको बिदा वर्षे बिदामा मिलान गर्ने गरी १० गतेसम्मका लागि विद्यालय बन्द गरिएको बताए ।
जिल्लामा जम्मा २ सय ९७ वटा सामुदायिक विद्यालय छन् । आयोगको परीक्षा सञ्चालनका लागि जिल्लामा मावि तहका लागि ४, निमाविका लागि १२ र प्राविका लागि १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले जानकारी दिए । बर्दिया जिल्लामा विभिन्न तह र विषयका लागि १ सय २९ वटा पदमा आवेदन माग भए पनि करिव ८ हजार जनाको आवेदन परेको छ । (सौस)

प्रतिक्रिया