नसर्ने रोगको ‘चिरफार’ गर्दै सरकार

काठमाडौं, ७ जेठ । पछिल्ला वर्षहरूमा सरुवाभन्दा नसर्ने रोगको जोखिम बढी भएको पाइएपछि सरकारले ती रोगको कारक तत्त्व बुझ्न अनुसन्धान थालेको छ । केही वर्षअघिसम्म सरुवा रोगबाट मृत्यु हुनेको संख्या बढी भएकोमा अहिले नसर्ने रोगका कारण मृत्युदर बढी हुन थालेपछि सरकार त्यसको कारण पत्ता लगाई नियन्त्रणतर्फ जान पहिलोपटक अनुसन्धानमा लागेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्युदर बढेको भन्दै ५० जिल्लामा बृहत् अनुसन्धान थालेको छ । ती जिल्लाका चार हजार दुई सय जनामा रोगको अवस्था र कारणबारे विस्तृत अध्ययन थालिएको परिषद्का अध्यक्ष डा. चोपलाल भुसालले जानकारी दिएका छन् । डा. भुसालका अनुसार परिषद्ले ती व्यक्तिहरूको जीवनशैली, खानपिन, रहनसहन, सरसफाइलगायत सबै कुराको अध्ययन गरी रोगको कारक पत्ता लगाउने कार्य गत कात्तिकबाटै सुरु गरिएको हो ।
अनुसन्धानमा नसर्ने रोगका रूपमा मृत्युदर बढी भएका मुुटुरोग, क्यान्सर, मधुमेह र दम (सिओपिडी)बारे जानकारी लिन थालिएको छ । परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा अनुसन्धान थालेको हो । अनुसन्धानमा पाँच वटा हिमाली, २५ वटा पहाडी र २० वटा तराईका जिल्लालाई समावेश गरिएको भुसालले बताए । उनका अनुसार अनुसन्धान टोलीले छनोट भएका जिल्लाका व्यक्तिहरू सबैलाई प्रश्नावली तथा शारीरिक परीक्षण गरी अध्ययन गर्न थालेका छन् ।
‘छनोटमा परेका व्यक्तिहरूको मुटु, क्यान्सर, दम तथा मधुमेहको अवस्था परीक्षण गरिने र रोग लागेको भए त्यसको कारक तत्त्वसमेत पहिचान गरिनेछ’ उनले भने, ‘परीक्षणमा रगतमा चिल्लोको मात्रा, ग्लुकोजको मात्रा, नूनको मात्रा, व्लड प्रेसरको अवस्थालगायतका कुराहरूको सुक्ष्म अध्ययन गरिनेछ ।’ उनका अनुसार अनुसन्धान टोलीले उनीहरूको आनीबानी तथा रहनसहन, धुँवामा बस्नुपर्ने/नपर्ने, धूमपान तथा मध्यपानको सेवन, शारीरिक क्रियाकलापलगायतका विषयमा पनि विशेष अनुसन्धान गर्नेछन् ।
सरकार तथा केही गरैसरकारी संघसंस्थाले यसअघि सानातिना क्षेत्रमा मात्र यी रोगको अवस्थाबारे मौखिक रूपमा अध्ययन गर्दै आएको थिए । अहिलेको अध्ययनमा भने प्रत्यक्ष भेटेर सोधेको आधारमा मात्र नभई ल्याब परीक्षणसमेत गरी अनुसन्धान गरिने भएकाले रोगको अवस्थाको वास्तविक चित्रण आउने परिषद्को विश्वास छ । ‘यो अनुसन्धानमा मानिसहरूको मौखिक तथा लिखित जवाफ लिनेदेखि उनीहरूको ल्याब टेस्ट तथा स्वास्थ्य परीक्षण गर्नेसम्मको काम हुँदै छ,’ डा. भुसालले भने ।
आगामी असार महिनाभित्र अनुसन्धानको नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित काम गरिरहेको परिषद्ले अनुसन्धानका लागि ३५ जना प्राविधिक खटाएको छ । डा. भुसालका अनुसार व्यक्तिहरूबाट जानकारी लिने काम लगभग सकिए पनि कार्यालयमा ल्याएर डाटालाई अध्ययन गर्ने काम बाँकी छ । उनले अध्ययनले देखाएको नतिजाको आधारमा सरकारले नसर्ने रोगको नियन्त्रणका लागि कार्यक्रम
बनाउन सक्नेछ ।
नेपालमा नसर्ने रोगका कारण ५१ प्रतिशतको मृत्यु हुने गरेको छ । केही समयअघिसम्म यो दर ३० देखि ३५ प्रतिशतको बीचमा मात्र थियो । नसर्ने रोगबाट मृत्युदर तीव्र रूपमा बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले पनि छिटो यसको नियन्त्रणका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका थियो । संगठनले नसर्ने रोग नियन्त्रणका लागि चाँडै विशेष कदम नचाले सन् २०२० सम्ममा यसले महामारीको रूप लिने चेतावनी दिइसकेको छ । त्यसपछि सरकारले तीन वर्षअघि नै नसर्ने रोगविरुद्धको नीति बनाउन थालेको थियो । तर, त्यसले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नसर्ने रोगविरुद्धको नीति बनाउन अस्पतालहरूको आवश्यक सहयोग नपाएको गुनासो गर्दै आएका छन् । नसर्ने रोगको पहिलो नम्बरमा मुटुसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसैगरी दम, मधुमेह, पक्षघात, क्यान्सर, मस्तिष्कघात, मिर्गौलासम्बन्धि रोगहरू तीव्ररूपमा बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया