गणेश मन्दिरबाट राहदानी सुरु

Rahadaniकाठमाडौं : रंग पत्रकारितामा लामो अनुभव सँगालेका डब्बु क्षत्री अब चलचित्र निर्देशनमा उत्रने भएका छन् । निर्माणाधीन चलचित्र राहदानीमार्फत उनी निर्देशनमा उत्रन लागेका हुन् । चलचित्रको आइतबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभ साइत  भयो ।
सिनेमनबल इन्टरप्राइजको दोस्रो प्रस्तुतिमा निर्माण हुन लागेको राहदानीका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकाल हुन् । चलचित्रमा अधिकांश कलाकार नयाँपुस्ताका छन् । पछिल्लो समय कलाकारितामा नयाँ पुस्ताको बाहुल्यता बढकाले यसपटक आफूले नयाँ पुस्तासँग काम गर्न लागेको शुभसाइत समारोहमा ढकालले बताए ।
चलचित्रको लेखन पनि निर्देशन डब्बु क्षत्रीले नै गरेका हुन् । दुई वर्षभन्दा लामो समय क्षत्रीले चलचित्रको लेखनमा लगाएका छन् । लामो समय र पटकपटकको रिराइट पछि बल्ल स्क्रिप्ट फाइनल गरेको हुँ । निर्देशक क्षत्रीले भने नेपालीहरू बिदेसिनु परेको समस्यालाई समेटेर चलचित्रको कथा तयार पारेको छु ।
कथा सशक्त हुनुका साथै यसक्षेत्रमा लामो समयदेखि पत्रकारिता गर्दै अएका डब्बु क्षत्रीले नै यस चलचित्र निर्देशन गर्न लागेकोले राहदानी राम्रो बन्ने अनुमान मैले गरेको छु चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले भने ।
त्यस्तै चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले ‘सञ्चारकर्मी क्षत्री विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय भएका र चलचित्र निर्देशनमा समेत ग्राजुएसन गरेकाले उनले पक्कै राम्रो चलचित्र बनाउनेमा आश गर्न सकिने बताए ।
पूर्वगृहसचिव डा.गोविन्द कुसुमले वैदेशिक रोजगारकै कमाइले मुलुक चलेको बेला वैदेशिक रोजगारको समस्यामा सिनेमा बनाउनु सराहनीय कार्य भएको बताउँदै निर्देशक क्षत्रीको काममा सबैले हौसला प्रदान गर्नुपर्ने धारणा राखे ।
नेपाल चलचित्र संघका केन्द्रीय सदस्य तथा गंगा चलचित्र मन्दिरका अध्यक्ष मदनमान बज्राचार्यले निर्माता लक्ष्मीप्रसाद ढकाल र निर्देशक डब्बु क्षत्री दुवै अनुभवी व्यक्ती भएकाले ‘राहदानी’ राम्रो चलचित्र बन्ने विश्वास व्यक्त गरे । चलचित्र पत्रकार संघका उपाध्यक्ष आरडी शृंखला, सञ्चारकर्मी शान्तिप्रिय, संगीतकार चेतन सापकोटालगायतले चलचित्र ‘राहदानी’ले समसामयिक मुद्दालाई सम्बोधन गरेकाले चलचित्रका कथामा ध्यान दिए जस्तै चलचित्र निर्माणमा पनि धेरै ध्यान पुर्‍याउन सुझाव दिए ।
७ जेठदेखि महोत्तरीको बर्दीबासबाट छायांकन सुरु हुने यो चलचित्रमा चेतन सापकोटा, वसन्त सापकोटा, जुगल डँगोलको संगीत, राजु शाहको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहनेछ ।
अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल ‘विशाखा’ विनिता घिमिरे, मोनिका दाहाल, विधा कार्की, दिनेश दुलाल, केशव घिमिरे, लक्ष्मणविक्रम बस्नेत, अस्मिता बस्नेतआदि कलाकारको मूख्य भूमिका चलचित्रमा रहने छ ।  राहदानीमार्फत नविन लम्साल, फुपू तेन्जिङ शेर्पा, विकाश जोशी, आयुस्मा श्रेष्ठ चलचित्रमार्फत कला क्षेत्रमा प्रवेश गर्दैछन् । (सौस)

प्रतिक्रिया