दाहाल र खनालसँग रेग्मी

काठमाडौं, ६ जेठ । आगामी संविधानसभा चुनावबारे विभिन्न दलबाट आएका सुझाव कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी ठूला दलका शीर्ष नेताहरूसित परामर्श थालेका छन् । उनले आइतबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालसँग बेग्लाबेग्लै भेटेर सुझाव मागेका छन् ।
अध्यक्ष रेग्मीले सरकार विरोधी आन्दोलनमा रहेका नेकपा–माओवादीसहितका दलका नेताबाहेक सबै दलसँग निर्वाचन ऐन, मिति घोषणा, निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा छलफल गरिसकेका छन् । छलफलबाट आएका सुझाव र माग सम्बोधन गर्ने विषयमा उनले ठूला दलको राय लिन थालेका हुन् ।
दाहाल र खनालसितको छलफलमा अध्यक्ष रेग्मीले विभिन्न दलबाट आएका सुझावबारे जानकारी गराउँदै ती सुझाव कसरी सम्बोधन गर्ने भन्दै प्रश्न गरेका थिए । सरकार तत्काल चुनावको मिति घोषणा गर्न तयार रहे पनि निर्वाचन कानुनका बारेमा दलहरूबीच विवाद देखिएकाले मिति घोषणामा ढिलाइ भइरहेको गुनासो रेग्मीले गरेका थिए ।
अध्यक्ष रेग्मीले निर्वाचन ऐनलाई छिटो अन्तिम रूप दिने तथा चुनावमा सबै दललाई सहभागी गराउने विषयलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी नेताहरूलाई गराएका थिए । देशमा चुनावको माहोल बनाउने काम दलहरूको भएको भन्दै उनले त्यसमा केन्द्रित हुन आग्रह गरेका थिए ।
दाहालसितको भेटमा अध्यक्ष रेग्मीले थ्रेसहोल्डको विषयमा भएको विवादले चुनावको मिति घोषणा गर्न ढिलाइ भएको र यसमा मध्यमार्गी बाटो खोज्न आग्रह गरेका थिए । दाहालले त्यस विषयमा थप छलफल गरेर अघि बढ्नुपर्ने र सकेसम्म पुरानै ऐनअनुसार अघि बढ्दा राम्रो हुने सुझाव दिएका थिए ।
एमाले अध्यक्ष खनालसितको भेटमा पनि अध्यक्ष रेग्मीले निर्वाचन ऐनको मस्यौदामा देखिएको विवादबारे छलफल गरेका छन् । असन्तुष्ट दलहरूलाई उच्चस्तरीय राजनीतिक समिति र सरकारले संयुक्त रूपमा मिलेर सहमतिमा ल्याउने विषयमा पनि खनालसित रेग्मीले छलफल गरेका थिए ।

प्रतिक्रिया