पत्रिका कब्जाबारे सरकारको ध्यानाकर्षण

काठमाडौं, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै प्रेसमाथिको आक्रमण सह्य नहुने बताएका छन् ।
नेकपा–माओवादीनिकट सञ्चार तथा छापाखाना मजदुरले राजधानी दैनिकको वितरणमा अवरोध पुर्‍याएको विषयमा ध्यानाकर्षण गराउन गएका पत्रकारसँग मन्त्री पौडेलले यस्तो बताएका हुन् । पौडेलले प्रेसमाथिको अवरोध प्रेस स्वतन्त्रताविरोधी मात्र नभई नागरिकको अधिकारसमेत कुण्ठित पार्ने काम भएकाले सरकार यसविरुद्ध रहेको स्पष्ट पारे ।
उनले पत्रकार र सञ्चारमाध्यमको सुरक्षाको प्रतिबद्धता व्यक्त गर्दै निर्भीकतापूर्वक काम गर्न आग्रह गरे । ‘प्रेसमाथि आक्रमण गर्नेलाई सरकारले संरक्षण गर्दैन, त्यसविरुद्ध सरकार छ,’ उनले भने, ‘राजधानी पत्रिकामाथि भएको आक्रमणको विषयमा पनि गृहमन्त्रालयसँग आवश्यक परामर्श गरेर सरकारले प्रक्रियाअघि बढाउँछ ।’ उनले प्रेस स्वतन्त्रताको रक्षा र निष्पक्ष एवं निर्भय रूपमा काम गर्ने वातावरण निर्माणमा सरकारले सहयोग गर्ने बताए ।
पत्रिका कब्जामा लिएकोप्रति विरोध
नेकपा–माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना प्रकाशन मजदुर संघले राजधानी दैनिक कब्जामा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गरेको जनाएको छ ।
महासंघले आइतवार विज्ञप्तिमार्फत संघले राजधानी दैनिकको काठमाडौ र आसपासका स्थानमा वितरण गर्ने सम्पूर्ण पत्रिका प्रेसबाटै कब्जामा लिएको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको जनाएको छ । ‘पत्रपत्रिकाको निर्वाध वितरणमा अवरोध गरी जनताको सुसूचित हुन पाउने अधिकारमाथि लगाइएको यस्तो बन्देजको महासंघ घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रिकाको वितरणमा रोक लगाउने र प्रेसबाटै पत्रिका कब्जामा लिने कार्यले समस्याको समाधान हुनसक्छ भन्ने कुरामा महासंघ कहिल्यै विश्वास गर्न सक्दैन ।’
महासंघले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न र पत्रिकाको निर्वाध वितरणमा रोक लगाउने काम तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपालले पनि विज्ञप्तिमार्फत राजधानी दैनिक बिक्रीवितरणमा गरिएको अवरोधप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया