डिआइजीविरुद्धको रिट खारेज एसपी बढुवाको बाटो खुल्यो

काठमाडौं, ६ जेठ । बढुवा सन्तोषजनक नभएको भन्दै नेपाल प्रहरीका पाँच डिआइजीविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतबाट खारेज भएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले आइतबार मुद्दा खारेज गरेको हो ।
आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै ११ एसएसपीले हालै बढुवा भएर डिआइजी बनेका नवराज सिलवाल, जयबहादुर चन्द, श्यामबहादुर खड्का, प्रकाश अर्याल र बमबहादुर भण्डारीविरुद्ध सर्वोच्चमा मुद्दा हालेका थिए । एसएसपीहरू रविप्रताप राणा, पूर्णसिंह खड्का, राजबहादुर विष्ट, मनोहरलाल रिमाल, रामप्रसाद खनाल, ज्ञानोदराज वैद्य, देवेन्द्र सुवेदी, गोविन्द निरौला, पशुपति उपाध्याय, विजयलाल कायस्थ र रोमेन्द्रसिंह देउजाले हालेको मुुद्दामा बढुवा खारेजीको माग गरिएको थियो ।
पाँच डिआइजीविरुद्ध एउटै प्रकृतिका रिट चार चरणमा परेका थिए । पहिलो चरणमा एसएसपीहरू राणा, खड्का, विष्ट, रिमाल, खनाल र वैद्यले रिट हालेका थिए । दोस्रो चरणमा सुवेदी र निरौलाले हालेका थिए भने तेस्रो चरणमा एसएसपी उपाध्यायले रिट हालेका थिए । उपाध्याय एक्लैले पाँच डिआइजीविरुद्ध रिट हालेका थिए । चौथो चरणमा विजयलाल कायस्थ र देउजाले रिट हालेका थिए । एसएसपी मावध नेपालले पनि त्यही प्रकृतिको रिट सर्वोच्चमा हाले पनि पछि उनले फिर्ता लिएका थिए । सबै रिटमा बढुवा खारेज गरिनुपर्ने माग गरिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलका अनुसार डिआइजीहरूविरुद्ध परेका सबै रिट खारेज गरिएका छन् । आगामी दिनमा बढुवा गर्दा प्रहरीलाई व्यावहारिक बनाउन पनि सर्वोच्चले निर्देशनात्मक आदेश दिएको उनले बताए ।
प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले बढुवा भएका डिआइजीहरूलाई दज्र्यानी चिह्न लगाइसकेपछि असन्तुष्ट एसएसपीहरूले सर्वोच्चमा मुद्दा हालेका थिए । मुद्दा परेलगत्तै सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि बढुवा कार्यान्वयन नगर्न आदेश दिएको थियो । दज्र्यानी चिह्न लगाइसकेका डिआइजीहरूलाई प्रधान कार्यालयले पदअनुसारकै जिम्मेवारी दिए पनि आधिकारिकता भने पाएको थिएन । ‘हामी बल्ल औपचारिक रूपमा डिआइजी भयौँ । पदअनुसारकै जिम्मेवारी पाए पनि हामी त यति बेलासम्म पेन्डुलम नै भयौँ नि । अरू त के आफैँले गरेको कामको जस लिन पाएनौँ, हस्ताक्षर गर्ने हैसियत हाम्रो थिएन,’ मुद्दा खारेजी भएलगतै एक डिआइजीले सौर्यसँग भने ।
‘अहिलेसम्म अदालत धाउनुपरेको थिएन, त्यो अनुभव पनि प्राप्त गरियो । यसका लागि साथीहरूलाई धन्यवाद † डिआइजी भएको खुसीयालीसमेत धक फुकाएर आफन्तबीच बाँड्न पाइएको थिएन,’ अर्का एक डिआइजीले भने ।
७ मंसिरमा उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । ४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
मुद्दा खारेजीसँगै स्थगित बनेको पाँच एसपीको बढुवाको बाटो पनि अब खुलेको छ । एसएसपी बढुवालगत्तै खाली भएको पदपूर्तिका लागि गृहमन्त्रालयले गत पुसमा पाँच एसपीलाई बढुवा गर्ने तयारी गरेको थियो । रिक्त एसएसपी पद पूर्तिका लागि वरीयता क्रमअनुसार एसपीहरू ठाकुरराम बर्तौला, बलराम शर्मा पौडेल, ज्ञानविक्रम शाह, पुष्पचन्द्र रञ्जित र धीरु बस्नेतको नाम गृहले छनोट गरेको थियो । तर, सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि डिआइजी बढुवा रोक्का गरेपछि एसपी बढुवा पनि रोकिएको थियो ।

प्रतिक्रिया