सहकारीको बचत असुरक्षित बन्दै

sahakari-bibhagकाठमाडौं, ५ जेठ । सहकारी सदस्यले बचत गरेको रकम गैरसहकारी सदस्यलाई लगानी गर्ने प्रचलन सहकारी क्षेत्रमा बढ्न थालेपछि सहकारीको बचत रकम असुरक्षित बन्दै गएको छ ।
केही महिनाअघि राजधानी र बाहिरका केही सहकारीमा आबद्ध सञ्चालकले रकम हिनामिना गरेको गुनासामाथि सहकारी विभागले अनुसन्धान गर्दा यो विषय पत्ता लागेको हो ।
सहकारी संस्था स्वायत्त र स्वतन्त्र छन्, सहकारी ऐन २०४८ अनुसार सञ्चालित छन् । तर, केही सहकारीले धेरै नाफा कमाउने लोभमा गैरसहकारी सदस्यलाई लगानी गर्दा बचतकर्ताको बचत उठ्नै नसक्ने गरी फसेको छ । बचत फिर्ता दिलाइदिन सहकारीका सदस्यहरू विभागमा धाउने गरेको विभागका सूचना अधिकृत तथा उपसचिव विष्णुप्रसाद घिमिरेले बताए ।
सहकारी ऐनको दफा २६ मा सहकारी संस्था वा संघले आºना सदस्यहरूबाट निक्षेप संकलन गर्ने र आºनै सदस्यहरूलाई मात्र लगानी गर्न पाउने प्रावधान छ । उक्त ऐनमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान भएपनि कतिपय सहकारी संस्थाले ऐन र राष्ट्र बंैकको अनुमतिसमेत नलिकनै कारोबार गर्ने गरेको विभागले जनाएको छ ।
प्रक्रियागत जटिलता, अस्वस्थ प्रतिस्पर्धा र भनसुनका भरमा ऋण लिनुपर्ने बाध्यताको विकल्पमा अगाडि आएको सहकारी क्षेत्रमा ब्याजदर चर्को हुन थालेपछि केही टाठाबाठा सदस्यहरूले वाणिज्य बैंकबाट ओभरड्राºट कर्जा स्वीकृत गराई सहकारीमा बचत गर्न थालेका छन् ।
हिजोआज वाणिज्य बैंकहरूले ओभरड्राºट कर्जा बापत ऋणिसँग नौदेखि दश प्रतिशतसम्म ब्याज लिने गरेको माछापुच्छ्रे बैंक बनेपा शाखाका शाखा प्रबन्धक दीपेन्द्र वाग्लेले बताए । त्यसैगरी बचत सहकारी संस्थाहरूले अर्धवार्षिक, वार्षिक, लामो अवधि, छोटो अवधि गरी समयको आधारमा ब्याज निर्धारण गरेको पाइन्छ । बनेपास्थित सफल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक जेनिस लामाका अनुसार कम्तीमा १३ र बढीमा १७ प्रतिशतसम्म सहकारीले बचतकर्ताहरूलाई ब्याज दिने गरेको खुलासा गरे ।
लगानी र असुलीको अन्तर ६ प्रतिशतभन्दा फरक गर्न नहुने भन्ने नीतिमा उल्लेख भए पनि केही सहकारी संस्थाले आधा मुनाफा राखेर ऋण लगानी गरेको अनुगमनले देखाएको छ । यसरी केही टाठाबाठाले चलाखीको भरमा कामैनगरी एउटा वित्तीय संस्थाबाट ऋण झिकी सहकारी संस्थामा बचत गरी ब्याज मात्र खाने गरेको सहकारी अगुवाहरू बताउछन् । समाजका विपन्न वर्गलाई लगानी गरी सीमित नाफा आर्जन गर्नुपर्ने सहकारीमा केही टाठाबाठाको हालिमुहाली बढ्नाले सहकारीभित्र क्रमश: विकृति मौलाउन थालेको सहकारी विभागका उपसचिव घिमिरेको भनाइ छ ।
सहज प्रक्रियाबाट ऋण प्राप्त हुने भएपछि बचतकर्ता मात्र होइन गैरबचतकर्तासमेत सहकारीतर्फ आकर्षित भएका हुन् । नाफा हुने सम्भाव्य क्षेत्र र असल ऋणीको पहिचान गर्न नसक्दा केही सहकारी संस्था डुबेकासमेत विभागले जनाएको छ ।
केही सहकारीमा सञ्चालकले बचतकर्तालाई गुमराहमा राखेको समेत विभागले फेला पारेको बताइन्छ । सामान्यतया बचतकर्ताले लाभांश कोष, बोनस कोष, संरक्षित कोष, शिक्षा कोष, घाटापूर्ति कोष र विकास कोषबारे जानकारी माग्दैनन् र यसले सञ्चालकहरूलाई जालसाजी गर्न सजिलो पार्छ ।
नेपालमा दुग्ध पदार्थ, फलफूल र तरकारी उत्पादकबाहेक उत्पादनमुखी अन्य सहकारी संस्थाहरू छैनन् । यस्ता सहकारी संस्थाको स्थापनामा बढोत्तरी नहुन्जेलसम्म सहकारीको महत्त्व बाहिर नआउने सहकारी अगुवा भरत शर्माको भनाइ छ । चैत मसान्तसम्म कुल २८ हजार २ सय ४८ सहकारी संस्था सञ्चालनमा आएका छन् । ती संस्थामा ४१ लाख १४ हजार २ सय ३७ सेयर सदस्यले रु १ खर्ब ४८ अर्ब बचत संकलन गरी रु एक खर्ब ३८ अर्ब ऋण परिचालन गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया