‘लोकमान नियुक्तिलाई असंवैधानिक भन्न मिल्दैन’

उदयपुर,५ जेठ । एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर केही तत्त्व चुनाव नगराउन लागिपरेको आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार संघ उदयपुरले शनिबार सदरमुकाम गाईघाटमा गरेको पत्रकार सम्मेलनमा नेता महराले यस्तो दाबी गरेका हुन् । उनले केही तत्त्व को हुन् भनेर खुलाएनन् । शाहीकालीन सेना, प्रहरीलगायत बढुवा भएर काम गरिहेकाले लोकमान नियुक्तिलाई मात्र असंवैधानिक भन्नु उपयुक्त नहुने जिकिर गरे । विगतमा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजगद्धी छाडेर राष्ट्रपति हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका कारण आफूहरूले अगाडि बढाउन नसकेको उनले उल्लेख गरे । ‘पुराना कुरा अब बिर्सनुपर्छ द्वन्द्वकालका घाउ कोट्याउने हो भने हामी कोही बाँकी रहन्नौँ,’ उनले भने ।
यसअघिको संविधानसभाबाट संविधान बनाउन नसकेकोमा माफी माग्दै उनले पुराना कुरालाई बिर्सिएर संविधानसभाको दोस्रो चुनावमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताए । उनले नेकपा–माओवादीबाहेक अन्य ११ दल पनि चुनावमा भाग लिने तयारीमा रहेको जानकारी दिँदै चुनाव भएरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया