शीर्ष नेतृत्व नै मंसिरमा चुनाव चाहँदैन

Shekhar-Koirala-1काठमाडौं, ३ जेठ । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रमुख चार राजनीतिक शक्तिले बाधा अड्काउ फुकाउन गरेको निर्णय र अन्तरिम संविधान संशोधनप्रति असन्तुष्टि जनाएका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले चार राजनीतिक शक्तिका नाममा जे पनि निर्णय गर्दै जाने छुट शीर्ष नेताहरुलाई नरहेको बताए । उनले भने, ‘सहमतिका नाममा बाधा अड्काउ फुकाउका लागि जारी गरेको चैत–१ गते नेपाली राजनीतिकै ‘कालो दिन’ हो ।’

उनले संविधानसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताहरु गम्भीरता नदेखिएको आरोप लगाए । ‘यस्तै अवस्था रहने हो भने मंसिरमा पनि चुनाव हुँदैन,’ उनले भने, ‘चुनावका लागि शीर्ष नेताहरु जिम्मेवार हुनु पर्छ ।’
त्यसै गरी, नेता कोइरालाले सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको आरोप लगाएका छन् । उनले न्यायालयमा कार्यपालिकाको हस्तक्षेप भईसकेको दाबी गरे । ‘सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको छ,’ उनले भने, ‘यो दु:खदपूर्ण कुरा हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्त लोकमान सिंह कार्कीको मुद्दाको बहसका क्रममा न्यायाधीशले नै ‘माथिबाट दवाव’ छ भन्नु अत्यन्तै दु:खदायी विषय भएको उनले बताए ।

प्रतिक्रिया