पुँजी निर्माणका कार्यक्रम ल्याउन आग्रह

काठमाडौं : अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले बजेट निर्माण गर्दा पुँजी निर्माण र आर्थिक वृद्धिमा सघाउ पुर्‍याउने खालका कार्यक्रमलाई प्राथमिकता दिन जोड दिएका छन् । अर्थ मन्त्रालयअन्तर्गतका निकायहरूबाट वैशाखमा सम्पन्न गरिएका प्रमुख कार्यहरूको प्रगति र जेठ महिनामा सम्पन्न गर्नुपर्ने प्रस्तावित कार्यक्रमहरू सम्बन्धमा छलफल गर्न आयोजित बैठक अर्थसचिव सुवेदीले सो निर्देशन दिएका हुन् । उनले पुँजीगत खर्च रकम वृद्धि गर्ने प्रयोजनार्थ १५ करोडभन्दा माथिका आयोजनाको कार्यान्वयन, अनुगमन, प्रगति र समस्या समाधानार्थ छलफलको आयोजना गर्न पनि जोड दिए । मन्त्रालयको बेरुजु ५५ प्रतिशतभन्दा बढी बेरुजु फछ्र्यौट हुने गरी काम गर्न सम्बन्धित महाशाखा प्रमुखहरूलाई निर्देशन  दिए ।
यसैगरी उनले राजस्व अनुसन्धान विभागलाई पुरानो मुद्दा फछ्र्यौटमा तदारुकताका साथ लाग्न र  भन्सार विभागलाई राजस्व चुहावट, चोरी निकासी पैठारीमा नियन्त्रण गर्न विशेष ध्यान दिन र गस्ती परिचालन गर्न एवं भन्सार मुल्यांकन यथार्थपरक बनाउन निर्देशन दिए । आन्तरिक राजस्व विभागलाई एकीकृत निरीक्षण कार्यलाई थप प्रभावकारी बनाई करको दायरामा नआएका क्षेत्रलाई दायरामा ल्याउने गरी कार्यक्रम सञ्चालन गर्न पनि उनले निर्देशन दिए । महालेखा नियन्त्रक कार्यालयलाई बाँकी १५ जिल्लामा पनि एकल खाता कोष प्रणाली लागू गर्नका लागि पूर्ण तयारी गर्नसमेत निर्देशन दिएको थियो ।

प्रतिक्रिया