जाजरकोट बन्यो डाक्टरविहीन

जाजरकोट, ३ जेठ । झाडापखालालगायत अन्य महामारीजन्य रोग देखा पर्ने मौसममा जाजरकोट जिल्ला नै डाक्टरविहीन भएको छ । गर्मीयामको सुरुआतसँगै जिल्लामा विभिन्नखाले रोगको प्रकोप देखिन सक्ने सम्भावना अत्यधिक रहेका बेला जिल्लामा एउटा पनि डाक्टर नभएपछि सास्ती व्यहोर्नुपरेको छ ।
जिल्लामा ४ जना डाक्टरको दरबन्दी भए पनि तीनवटा दरबन्दी लामो समयदेखि पूर्ति गरिएको छैन । यस्तै, जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक मात्र डाक्टर विवेककुमार लालको पनि सरुवा भएपछि जिल्ला नै डाक्टरविहीन भएको हो ।
जिल्लामा डाक्टर नभएपछि जिल्लावासी सामान्य उपचारका लागि महँगो खर्चमा रुकुमको चौरजहारी, सुर्खेत र नेपालगन्ज जान बाध्य छन् । जाजरकोटमा १५ शय्याको एक जिल्ला अस्पतालसहित २ वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
जिल्ला अस्पतालमा दुई र प्राथमिक केन्द्रमा एक/एकवटा डाक्टरको लामो समयदेखि डाक्टरको पदपूर्ति हुन सकेको छैन । यस्तै, कार्यालयका अनुसार स्वास्थ्य सहायक ९, अहेव ६, स्टाफ नर्स २, अनमी १३, ग्रामीण स्वास्थ्यकार्यकर्ता १२, रेडियो ग्राफर १ र मेडिकल अधिकृत २ गरी ४५ जना स्वास्थ्यकर्मीको पनि पदपूर्ति हुन सकेको छैन ।
डाक्टर नभएपछि अहिले जिल्ला अस्पताल सिएमए र अहेवको भरमा चलेको छ । विभिन्न रोगबाट ग्रस्त बिरामी उपचारका लागि जिल्ला अस्पताल आए पनि उपचार नपाएर फर्कने गरेका छन् । जिल्लामा डाक्टर नहँुदा पोस्टमार्टम गर्नसमेत समस्या भएको छ । झाडापखालालगायत अन्य महामारीजन्य रोग देखापर्ने बेलामा जिल्लामा एउटा पनि डाक्टर नहुनु कुनै हालतमा राम्रो नभएको अधिकारकर्मी खिमबहादुर शाहीको भनाइ छ ।

प्रतिक्रिया