सडकका भुसिया कुकुरको स्थायी बन्ध्याकरण

दोलखा, ३ जेठ । कुकुरको संख्या नियन्त्रणका लागि सडक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप शिविर बुधबारबाट सदरमुकाम चरिकोटमा सुरु भएको छ ।
कुकुरको संख्या प्रतिदिन बढ्दै गएको भन्दै स्थानीयवासीबाट जनगुनासो बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि शिविरको आयोजना गरिएको जिल्ला पशुसेवा कार्यालय दोलखाका डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए । यसबाट रेबिज रोगको प्रकोप न्यूनीकरणसमेत हुने जनाएको छ । भीमेश्वर नगरपालिका र जिल्ला पशु सेवा कार्यालय दोलखाको आयोजना एवं हिमालयन एनिमल रेस्क्यु ट्रस्ट नेपाल पारा भेटेरियन तथा लाइभस्टक एसोसिएसन दोलखाको सहयोगमा सो शिविर सञ्चालन भएको हो ।
कुकुरको संख्या बढ्दै गएपछि सदरमुकाममा यातायात सञ्चालनका लागि समेत समस्या परेको छ । यस्तै, कुकुरको संख्यामा वृद्धि भएपछि स्थानीयवासीलाई हिँड्डुल गर्नदेखि स–साना बालबालिकालाई विद्यालय जानसमेत समस्या परेको थियो । केही वर्षअघि विष दिएर कुकुर मारिएको थियो । त्यसरी मार्दा अमानवीय र पीडादायी हुने भएकाले यो विधि उपयोगी हुने हार्ट नेपालका खगेश्वर भट्टराईले जानकारी दिए । यसले कुकुरको संख्या नियन्त्रण हुनुका साथै जनावर अधिकार मैत्रीसमेत हुने बताइएको छ । शिविरमा सडककुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । अन्य समयमा बन्ध्याकरण गर्दा सरकारीमा तीनदेखि चार हजार र निजीमा चारदेखि सात हजारसम्म शुल्क लाग्ने गरेको छ ।
नेपालमा वार्षिक सयभन्दा बढी व्यक्तिको रेबिज रोगबाट ज्यान जाने गरेको तथ्यांक सरकारसँग छ । दोलखामा गत वर्ष १४२ जनाले रेबिजविरुद्धको खोप लगाएका थिए । रेबिजविरुद्धको खोप पाँचपटक लगाउनुपर्ने र प्रतिखोपको ६ सय पर्ने गरेको छ । गत वर्ष जिल्लाको च्यामा, हावा, सहरे र जफे गाविसमा ८ महिनाभित्रमा ३ पटक रेबिज रोग देखा परेको थियो । जिल्ला पशुसेवा कार्यालय दोलखाको सक्रियतामा हाल सो गाविसमा रेबिज रोग न्यूनीकरण हँुदै गएको डा. सापकोटाको भनाइ छ ।
शिविरमा ५० वटा कुकुरलाई स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखिए पनि त्यसको संख्या बढेर ६० पुग्नसक्ने आयोजकको भनाइ छ । बुधबार मात्र २० वटा कुकुरलाई स्थायी बन्ध्याकरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया