खेलकुदमा महिला नै अब्बल

Chahana-Bomjanचहना बम्जन वर्ष ०६९ की सर्वोत्कृष्ट नेपाली खेलाडी । उनले विश्व जुनियर उसु च्याम्पियनसिपमा पदक जितिन् । लामो समयको अन्तरालपछि विश्वस्तरीय प्रतियोगितामा हात लागेको यो पदकले ओइलाउँदै गएको नेपाली खेलवृत्तमा प्राण भर्ने काम गर्‍यो । यसअघि तेक्वान्दो स्टार सीता राईले विश्व महिला च्याम्पियनसिपमा प्राप्त गरेको पदक सम्भवत: नेपाली खेलाडीले विश्व च्याम्पियनसिपमा पाएको सबैभन्दा उत्कृष्ट सफलता थियो ।
सत्तरीको दशकमा जितबहादुर केसीले एथलेटिक्सको एसियन च्याम्पियनसिपमा पदक जिते । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जित्ने क्रमको सुरुआत त्यहीँबाट भयो । तर, सबैभन्दा गौण गर्न लायक तथ्य यो छ कि यो चार दशक लामो खेलयात्रामा पछिल्लो समय महिला नै अब्बल देखिए । संख्यात्मक रूपमा पुरुषले पाएको पदकसंख्या बढी भए पनि कुनै पनि प्रतियोगितामा समावेश महिला स्पर्धा र पछिल्लो दशकको प्रदर्शनलाई आधार मान्दा महिलाहरू पुरुषभन्दा उत्कृष्ट ठहरिए । यो उत्कृष्टता ट्रयाक, कोर्ट र रिङ सबैतिर कायम रह्यो । नेपाली सामाजले महिलालाई पुरुषभन्दा बढी अनुशासित बनाउनु नै यो सफलताको रहस्य रहेको नेपाली खेलकुदलाई नजिकबाट हेर्नेहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालले आंशिक प्रभाव देखाएका र एसियाली स्तरमा पनि हैसियत भएका खेल तेक्वान्दो, कराते, जुडो, बक्सिङ र उसुमा महिलाहरू पुरुषभन्दा धेरै अब्बल देखिए । यथार्थ हो, धेरै खेलमा नेपालको इज्जत महिलाले नै धाने । सुटिङ, फुटबल, टेबुलटेनिस र भलिबलमा त नेपाली पुरुषलाई महिलाले धेरै पछाडि छाडिसके ।
सन् १९९६ मा सिड्नीमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिप नेपाली खेलकुदका लागि सबैभन्दा गर्व गर्नलायक खेल महोत्सव हो । जहाँ संगीना वैद्यले स्वर्ण जितेकी थिइन् । एसियाली स्तरमा स्वर्णपदक जित्ने एक्लो नेपाली खेलाडीका रूपमा संगीनाले राखेको कीर्तिमान अद्यापि कायम छ । र, सम्भवत: अझै लामो समय रहनेछ । संगीनाको सोही सफलताले उनलाई नेपालको सर्वकालीन उत्कृष्ट खेलाडीका रूपमा स्थापित गराएको छ ।
काठमाडौँमा सन् २००२ मा भएको पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा नेपालले २७ मध्येका २२ स्वर्ण जितेको थियो । त्यसपछि ओरालो लागेको नेपाली उसुको स्वर्णिम दिनमा नेपाललाई अधिकतम सफलता दिलाउने खेलाडी भने विना खडका नै थिइन् । एसियन च्याम्पियनसिप पदकविजेता विना पछिल्लो समय अमेरिकामा छिन् । २००६ को कोलम्बो सागमा सहभागिता जनाउँदै उनले स्वर्ण जितेकी थिइन् । यी दुई पदकपछि उनले आफूलाई निर्विवाद रूपमा नेपाली उसुकी हालसम्मकै उत्कृष्ट खेलाडीका रूपमा पुष्टि गरिन् ।
संगीना नेपाली खेलकुदकी उत्कृष्ट खेलाडी भए पनि अन्य तेक्वान्दो खेलाडीले पनि आफूलाई उपल्लो दर्जाको खेलाडीका रूपमा पुष्टि नगरेका होइनन् । सन् १९८८ मा  महिला विश्व च्याम्पियनसीपमा कांस्य पदक जित्ने सीता राई  र  सन् १९९८ को बैंकक एसियाडमा रजत जित्ने सविता राजभण्डारी नि:सन्देह नेपाली तेक्वान्दोका शीर्ष कोटीका स्टार हुन् । यिनको समकक्षमा पुग्ने एक्लो पुरुष तेक्वान्दो खेलाडी विधान लामाले सोल ओलम्पिकमा पदक जितेका थिए ।
एसियाड तेक्वान्दोमा महिला स्पर्धा समावेश भए यता सधैँ महिलाले नै सान राख्दै आएका छन् । बैंककमा नेपालले तेक्वान्दोमा तीन पदक थाप्दा सपना मल्लले कांश्य जितेकी थिइन् । त्यसपछिको बुसान एसियाडमा नेपालले तीन पदक जित्दा ऋतु जिमी राई र राधिका मगरले पदक हात पारेका थिए । २००६ मा पनि नेपालले तीन पदक जित्दा आयशा शाक्य र मनिता शाही विजेता सूचीमा थिए ।
एसियाडमा चिनियाँसहित विश्वस्तरीय महिला मुक्केवाजका सामु नेपाली खेलाडी निरीह सावित भए पनि चीनमै भएको एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सञ्जु लामा र अनुराधा लामाले पदक जित्दै नेपालको खेल–उचाइ बढाएका थिए ।
जुडोको एसियाली तहमा पुरुषले हालसम्म कुनै पदक नपाए पनि जुनियर तहमा तीन नेपाली महिलाले पदक पाए । वीरगन्जकी लीला अधिकारीले भारतमा भएको एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक पाइन् । त्यस पछिको संस्करणमा सुनिता थापा मगरले पनि त्यो सफलता दोहोर्‍याइन् । पछिल्लोपटक त्यसलाई तेहेर्‍याएकी छन्, फुपू ल्हामु शेर्पाले । नेपाली जुडो शिथिल हुँदै गएको पछिल्लो समयमा महिलाले नै त्यसको साख आंशिक रूपमा भए पनि जोगाएका छन् । देबु थापा, राधादेवी राई, रञ्जु राई,  इन्दिरा राई प्रभावकारी रूपमा उदाएका छन् ।
पावर गेममा महिलाको उत्कृष्टतालाई अन्य खेलका महिलाले पनि नपछ्याएका होइनन् । नेपालमै महँगो ठहरिएको सुटिङ खेलका तर्फबाट अनिता श्रेष्ठ सागमा स्वर्ण पदक जित्ने एक मात्र नेपाली महिलाका रूपमा रहेकी छन् ।
टेबुलटेनिसमा सिजरिन शाह र गीता क्षत्री सम्मिलित महिला टोलीले जितेको साग स्वर्ण पदक नै यो खेलमा नेपालले निकालेको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । पछिल्लो सागमा दुई कांश्य पदक विजेता मुना बासुकला टबुलटेनिसमा एकल पदक जित्ने पहिलो खेलाडी बनिन् ।
६० को दशक नेपाली पुरुष फुटबलका लागि निराशाको दशक बन्यो । पुरुष फुटबलले दिलाएको निराशालाई घटाउने काम महिला फुटबलरले गरे । दक्षिण एसियामा बिस्तारै फस्टाउँदै गरेको महिला फुटबलमा नेपाल र भारत मात्र प्रतिद्वन्द्वीका रूपमा रहेका छन् । भारतबाहेक अन्य प्रतिद्वन्द्वीका सामु नेपाली महिला फुटबल साँच्चै स्तरीय छ । जमुना गुरुङ र अनु लामाको आक्रामक जोडी पुरुष फुटबलको भन्दा स्तरीय रहेको दाबी विश्लेषकहरूले गरेका छन् । यी दुई खेलाडीसँगै १२ वर्ष राष्ट्रिय टोलीमा बिताएर फरवार्डबाट बायाँ रक्षकको भूमिकामा समेत न्याय गर्न सक्षम चन्द्रा भण्डारी उत्कृष्ट महिला खेलाडीका सूचीमा रहिन् ।
नेपालको हैसियत पुग्ने दक्षिण एसियाली खेलकुदमा महिला म्याराथन समावेश नभएका कारण पुरुष र महिलाको तुलना गर्न नमिल्ला । तथापि, मध्यमदुरीमा नेपाली एथलेट कान्छीमाया कोजु नै अन्य नेपालीभन्दा उत्कृष्ट देखिएकी छिन् । नवौँ सागमा राजेन्द्र भण्डारीले मध्यम दूरीमा दुई रजत पदक जितेपछि कान्छीमाया कोजुले १०औँ सागमा जितेको रजत पदक नेपाली एथलेटको मध्यम दूरीमा सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।
नेपाली पुरुष भलिबलको हैसियत साग खेलमा पनि दमदार नरहँदा नेपाली महिला भलिबलले १०औँ सागमा काश्य पदक जितेको थियो । बीच भलिबलमा चुडा खड्का र नीता शाहको जोडीले एसियाली स्तरमै पदक जितिसकेको छ । एसीसी यु–१९ र सिनियरमा पनि पहिलो स्थान ल्याएर नेपाली महिला क्रिकेटरले देशको साख उँचो बनाएको छ ।

प्रतिक्रिया