कक्षा ९ मा २१ विषय थपिने

booksकाठमाडौं, ३१ वैशाख । सरकारले कक्षा ९ मा २१ वटा विषय थप गर्ने भएको छ । अहिलेको शिक्षा अव्यावहारिक भएको भन्दै सीपमूलक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकार आगामी शैक्षिक सत्रदेखि नयाँ विषय थप्ने तयारीमा लागेको हो । यही शैक्षिक सत्रदेखि कक्षा ९ मा प्राविधिक तथा व्यावसायिक शिक्षा परीक्षणका लागि सय विद्यालयमा लागू गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बालकृष्ण रञ्जितले शिक्षालाई व्यावसायिक तथा व्यावहारिक बनाउन नयाँ विषय थप्न लागिएको जानकारी गराएका छन् । अहिलेको विषयहरूबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र प्राप्त गर्ने भएकोले शिक्षालाई जीवन उपयोगी बनाउन नयाँ विषय आवश्यक भएको रञ्जित बताउँछन् । ‘तल्लो तहदेखि नै शिक्षालाई गुणस्तरीय बनाई सीपमूलक र दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विषय थप्न लागिएको हो,’ उनी भन्छन्, ‘नयाँ विषयले विद्यार्थीलाई व्यावसायिक ज्ञान दिएर स्वावलम्बन पनि बनाउँछ ।’
यसअघि यस शैक्षिक सत्रदेखि कक्षा ६ देखि ९ सम्म व्यावसायिक, सीपमूलक विषय थप गरिएको छ । कुल ८ सय पूर्णांकको पढाइमा विद्यार्थीहरूले नयाँ थप्न लागिएका विषयहरू विद्यार्थीहरूलाई वैज्ञानिक, जीवनोपयोगी, व्यावसायिक, आत्मनिर्भर, सीपमूलक, तालिमप्राप्त सबै क्षेत्रलाई समेटिएका छन् । पहिलो ऐच्छिक विषयहरूमा १२ वटा र दोस्रो ऐच्छिक विषयहरूमा ९ वटा थप्न लागिएको केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार पहिलो ऐच्छिक विषयहरूमा सूचना प्रविधि, वाणिज्य गणित, परम्परागत चिकित्सा पद्धति, भाषाअन्तर्गत मलाया, कानुन, ग्रामीण विकास, अनौपचारिक शिक्षा, सहकारी शिक्षा, पर्यटन शिक्षा, तरकारी खेती, पुस्तकालय विज्ञान र पुष्पखेती छन् । दोस्रो ऐच्छिकतर्फ विज्ञान, मानवमूल्य शिक्षा, पंक्षीपालन, फलफूल खेती, जडीबुडी खेती, फोटोग्राफी, रेशम खेती तथा मौरीपालन, बुढौली शिक्षा र बजारशास्त्र छन् । थप गरिएका विषयहरू अधिकांश कृषिमा आधारित छन् । केन्द्रले छात्राका लागि बुढौली शिक्षा थप गर्नेे भएको छ । विदेशमा बूढाबूढीको स्याहार–सुसार गर्नका लागि रोजगारी जाने क्रम बढेकोले बुढौली शिक्षा थपिएको रञ्जितको भनाइ छ ।
केन्द्रका अनुसार थप गरिएका विषयहरू विद्यार्थीले ४ वटा पढ्न पाउने छन् । थप विषयहरूलाई चार समूहमा बाँडिएको छ । समूहबाट विद्यार्थीले दुई विषय लिन पाउने छन् र विद्यालयले दुवै ऐच्छिकबाट एक–एक विषय छनोट गर्नेछन् । नयाँ विषयहरूको उत्तीर्ण प्रतिशत ४० हुने केन्द्रले जनाएको छ । थप गरिएका नयाँ विषयले विद्यार्थीहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्नसक्ने प्रवक्ता भट्टराईको दाबी छ । केन्द्रले नयाँ विषयको पाठ्यक्रम बनाइरहेको छ । ‘हामीले पनि पाठ्यक्रम बढी व्यावहारिक बनाउन थालेका छौँ,’ उनी भन्छन्– ‘विद्यार्थीले माध्यमिक तह पास गरेपछि केही गर्न सकुन् गनेर पाठ्यक्रय बनाइरहेका छौँ ।’
नयाँ विषयका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत वर्ष नै अवधारणापत्र पास गरेको थियो । केन्द्रले जेठ महिनाभित्र पाठ्यक्रम तयार पारी परिषद्सँग स्वीकृत गराउनेछ । उक्त पाठ्यक्रम ०७१ सालदेखि परीक्षणका लागि लागू गरी सञ्चालन गरिनेछ । अर्को वर्षदेखि देशभरका सवै विद्यालयमा नयाँ पाठ्यक्रम लागू गरिने प्रवक्ता भट्टराईको भनाइ छ ।

प्रतिक्रिया