अधिकांश विद्यालयमा अनधिकृत पाठ्यपुस्तक

बर्दिया, २९ वैशाख । बर्दिया जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका लागि छापिएका पाठ्यपुस्तक अनधिकृत रूपमा बिक्री–वितरण भइरहेको छ । जिल्लाका नेउलापुर, ठाकुरद्वारा, राजापुर, मोतीपुर (बाँसगढी), जमुनी र मगरागाडी स्रोतकेन्द्रका अधिकांश विद्यालयमा प्राथमिक र निम्नमाध्यमिक तहका खरिद गरिएका सबै पाठ्यपुस्तक पूर्वाञ्चल र पश्चिमाञ्चलका जिल्लामा बिक्री–वितरण गर्न छापिएका पुस्तक रहेका छन् ।
कमिसनको चक्करमा जिल्लाका केही पुस्तक बिक्रेता र विद्यालयका प्रधानाध्यापकहरूको मिलेमतोमा यस्ता अनधिकृत पाठ्यपुस्तक बिक्री–वितरण भइरहेको हो । पुस्तकमै ‘विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका ०६७ अनुसार यो पाठ्यपुस्तक पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका ३२ जिल्लामा मात्र शैक्षिक सत्र ०६९ का लागि निजी क्षेत्रका मुद्रक तथा बितरकबाट बिक्री–वितरण गर्न स्वीकृत पाठ्यपुस्तक हो,’ भनी लेखिए पनि प्रधानाध्यापकले १० देखि ३० प्रतिशतसम्म कमिसन लिएर निजी क्षेत्रले छापेका पाठ्यपुस्तक खरिद गरेका हुन् ।
पुस्तक बिक्रेताबाट विद्यालयका प्रधानाध्यापकले कमिसन लिएर यस्ता अनधिकृत पुस्तक आºना विद्यालयमा खरिद गर्ने गरेको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बर्दियाका एक सदस्यले दाबी गरे । साझा प्रकाशनमार्फत बिक्री–वितरण गर्नुपर्ने पुस्तक अनधिकृत रूपमा बिक्री–वितरण भइरहँदा पनि जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदेखाएकोप्रति उनले भने, ‘जिल्लाका नाम चलेका विद्यालयमा अनधिकृत रूपमा यस्ता पाठ्यपुस्तक खरिद भइरहँदा पनि जिल्ला शिक्षा कार्यालय मौन देखिनुले उसको पनि मिलेमतो प्रस्ट देखिन्छ ।’
जिल्ला शिक्षा अधिकारी दिनेशप्रसाद श्रेष्ठले निजी पब्लिकेसनका पाठ्यपुस्तक खरिद–बिक्री भइरहेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘यदि यस्तो पाइएमा पाठ्यपुस्तकका लागि उपलब्ध हुने रकम रोक्का गर्ने र बिल फस्र्योट हुँदैन ।’

सरकारी विद्यालयमा निजी किताब
जिल्लाको कालिका गाविस–८ स्थित तिल्कनामा रहेको भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालयले अंग्रेजी माध्यममा पढाउने भन्दै सरकारले तोकेको पाठ्यपुस्तक हटाएर निजी प्रकाशनका पाठ्यपुस्तक पढाउँदै आएको छ । अंग्रेजी माध्यमबाट पढाउने सामुदायिक विद्यालयका लागि पाठ्यक्रम विकास केन्द्रले नेपाली पाठ्यपुस्तकको अंग्रेजी अनुवाद प्रकाशन गरे पनि नर्सरीदेखि कक्षा ४ सम्म निजी पब्लिकेसनका एकता, रिडमोर र मेघाको पाठ्यपुस्तक लागू गरेको हो । शिक्षा नियमावली संशोधन ०६९ को परिच्छेद ७ (३५)मा सामुदायिक विद्यालयले थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न चाहे जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत लिनुपर्ने उल्लेख छ । तर, विद्यालयले कार्यालयको स्वीकृतविनै सरकारी पाठ्यपुस्तक हटाएर कक्षा ४ सम्मको पूरै पाठ्यपुस्तक निजी प्रकाशनका लागू गरेको छ ।
प्रधानाध्यापक राजेन्द्र एलसीले जनक शिक्षाले प्रकाशन गरेको अंग्रेजी माध्यमको पाठ्यपुस्तक सहज ढंगले उपलब्ध नभएको र पढाउन पनि जटिल भएका कारण निजी प्रकाशनको पुस्तक लागू गरेको बताए । अभिभावकको चहनाबमोजिम विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको बताउँदै उनले भने, ‘जनक शिक्षाले प्रकाशन गरेको अंग्रेजी माध्यमको पाठ्यपुस्तक नपाइएपछि निजी पब्लिकेसनको पाठ्यपुस्तक लागू गरेका हाँै । यो रहर नभई बाध्यता हो ।’
अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने बहानामा यस विद्यालयले अभिभावकबाट पुस्तकबापत भन्दै मोटो रकम असुुलेको छ । नर्सरीदेखि कक्षा ४ सम्मको पाठ्यपुस्तकबापत अभिभावकले ३ सय ८२ देखि १ हजार एक सय २४ रुपियाँसम्म तिरेका छन् । जब कि सरकारले कक्षा १० सम्मकै पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराएको छ । सरकारबाट पाइने नि:शुल्क पाठ्यपुस्तकको अनुदान रकम भने विद्यार्थीले किनेको पाठ्यपुस्तकको मूल्यमा समायोजन गरेको विद्यालयले जनायो । जिल्लामा करिब ४ दर्जन बढी सामुदायिक विद्यालयले प्राथमिक तहमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरे पनि सबै विद्यालयले सरकारी निर्देशनअनुसर जनक शिक्षा सामग्रीद्वारा प्रकाशित पाठ्यपुस्तक नै लागू गरेका छन् ।

प्रतिक्रिया