कोइरालाले पनि माफी मागे

Sushil-Koiralaकाभ्रे, २८ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको सिफारिस फिर्ता लिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले अस्वीकार गरेको खुलासा गरेका छन् । अख्तियार प्रमुखमा कार्कीलाई नियुक्त गर्न हस्ताक्षर गरेकोमा गल्ती स्वीकार गरी फिर्ता लिन माग गरे पनि मन्त्रिपषिद् अध्यक्ष रेग्मीले नमानेको कोइरालाको भनाइ छ ।
‘मैले  चार दलको बैठकमा लोकमानलाई अख्तियार प्रमुख बनाउन हस्ताक्षर गरेर गल्ती गरेँ,’ कोइरालाले भने, ‘जब मैले  गल्ती महुसुस गरेँ मेरो निर्णय फिर्ता भयो । लोकमानसिंहलाई नियुक्त नगराँै भन्दा खिलराजले मानेनन् ।’
चारै दलका शीर्षनेता सहभागी बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले पनि पार्टीले नै गल्ती गरेकाले हस्ताक्षर फिर्ता गरेको निर्णय सुनाएको उल्लेख गर्दै कोइरालाले भने, ‘रेग्मीले तपार्इंहरूले गरेको हस्ताक्षर फिर्ता हुन सक्दैन भन्दै कार्कीलाई नियुक्ति गरे । यो दुर्भाग्य हो ।’
कांग्रेसनिटक नेसनल कोअपरेटर्स एलाइन्स ललितपुरले धुलिखेलमा आयोजना गरेको दुईदिने गोष्ठीको उद्घाटनमा शुक्रबार कोइरालाले यस्तो खुलासा गरेका हुन् । ‘मान्छेले एकपटक गल्ती गर्न सक्छ, गल्ती महसुस भएपछि माफी माग्न र फिर्ता गर्न खोज्दा रेग्मीले दिएनन्,’ उनले भने, ‘हामीले गरेको निर्णय मुलुकको हितमा छैन, तर्सथ माफी माग्नु र अन्यथा यस्तो गल्ती नगर्नुको विकल्प छैन । म बूढोलाई केही लोभ पनि छैन, त्यसैले कोही व्यक्तिलाई नियुक्ति गरेर मैले अपजस झेल्नु पनि थिएन, मैले गरेको गल्तीको सजाय भोग्न तयार छु ।’
आइन्दा यस्तो गल्ती नगर्ने सबक सिकेको पनि उनले बताए । कोइरालाले आफूलाई सात महिना प्रधानमन्त्रीको उम्मेदवार बनाएर पनि एकीकृत माओवादीले धोका दिएकाले बाध्य भएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नुपरेको बताए ।

प्रतिक्रिया