सहकारी सुशासन कार्ययोजनाको मस्यौदा तयार

sahakari-bibhagकाठमाडौं, २७ वैशाख । सहकारी क्षेत्रको थप सुधार र सुदृढीकरण गर्न सहकारी विभागले सहकारी सुदृढीकरण तथा सहकारी सुशासन कार्ययोजनाको मस्यौदा तयार पारेको छ ।
हालसम्म कति बचत तथा ऋण, बहुउद्देश्यीय सहकारी छन् भन्ने यकिन जानकारी नभए पनि करिब २६ हजारभन्दा बढी सहकारी रहेका र यसमा करिब ५० लाख जनता आबद्ध रहेको आँकलन गरिएको छ ।
विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका रजिस्ट्रार केदार न्यौपानेले सार्वजनिक गरेको सो कार्ययोजनाको मस्यौदामा सहकारी कार्यालयको विस्तार र क्षमता अभिवृद्धि गर्ने छ ।
हाल ३८ जिल्लामा विभागअन्तर्गतका कार्यालय छन् भने आगामी दिनमा थप २० जिल्लामा कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ । सहकारी अभियान, व्यावसायिक विकास र प्रवद्र्धन गर्न यसलाई अभियानका रूपमा सञ्चालन गर्ने, गरिबीको रेखामुनि रहेका जनतालाई सहकारीमा थप आकर्षण गर्न सहकारी घुम्ती सेवा सञ्चालनमा ल्याउने कार्ययोजनामा उल्लेख  छ । त्यस्तो घुम्ती सेवा चालु आवभित्र सञ्चालनमा ल्याउन पनि समय–सीमा निर्धारण गरिएको छ ।
कार्ययोजनामा कृषि, पर्यटन, जलस्रोतलगायत प्राथमिकता क्षेत्रमा सहकारीलाई लगानी गर्न प्रोत्साहन तथा आकर्षित गर्ने, उत्पादनशील क्षेत्रमा लगानी गरेका सहकारीलाई विभिन्न सहुलियतका लागि पहल गर्ने, सहकारीको पहँुच नपुगेका क्षेत्रमा पहुँच पुर्‍याउन प्रचार–प्रसार गर्ने, सहकारी महोत्सव तथा मेला आयोजना गर्ने, उत्पादनलगायत क्षेत्र छन् ।
त्यस्तै, सहकारीको माध्यमबाट गरिबी निवारण गर्ने सहकारी क्षेत्रमा विदेशी लगानीका लागि दाताको खोजी, सहकारी शिक्षा तथा तालिम कार्यक्रमलाई थप प्रवद्र्धन गर्न विद्यालयस्तरको पाठ्यक्रममा समावेशका लागि पहल गर्नेलगायत बुँदा प्रस्तावित मस्यौदामा छन् ।
साथै, सहकारी सुशासन कार्ययोजनामा सहकारी ऐन तथा नियमावलीलाई समसामयिक बनाउने, सहकारी संस्थाको वर्गीकरण गर्ने, ठूला सहकारी संस्थाको अनुगमनका लागि ठूला सहकारी संस्था अनुगमन एकाइ तत्काल गठन गर्ने, सहकारी विभागका जनशक्तिलाई थप क्षमतावान बनाउने रहेका छन् ।
सहकारी संघसंस्थालाई प्रचलित सहकारीका मूल्य–मान्यता एवं सिद्धान्तमा सञ्चालन गर्न अभिप्रेरित गर्न जिल्लास्तरमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउने, सहकारी संस्थाबाट समुदायलाई प्रलोभन गर्ने खालका प्रकाशन तथा विज्ञापन, साइनबोर्डलाई थप व्यवस्थित गर्ने, सहकारीका तथ्यांकलाई व्यवस्थित बनाउने पनि सो सुशासन कार्ययोजनामा छ ।
कार्ययोजनामा सहकारी संघसंस्थाबीचको एकीकरणलाई अभियानका रूपमा अगाडि बढाउने उल्लेख गरिएको छ । यसका लागि विभागले पहिलोपटक कार्यविधि तयार गरी लागू गरिसकेको छ ।
सहकारी संघसंस्थालाई स्वनियममा चल्ने स्वायत्त संगठनका रूपमा विकास गर्न कार्ययोजनाले लेखासमितिलाई सक्रिय गराई अनिवार्य रूपमा आन्तरिक लेखा परीक्षण गर्न लगाउने रहेको छ । पत्रकार सम्मेलनमा रजिस्ट्रार न्यौपानेले सहकारीप्रति आमजनताको बुझाइ र विश्वासलाई अझ प्रवद्र्धन गर्न कार्ययोजना ल्याइएको बताउँदै यसलाई पालन गर्न सबै पक्षलाई आग्रह गरे ।
सहकारीद्वारा डेरी सञ्चालन
गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटस्थित हिमाली टोलमा अनमोल कृषि सहकारी संस्थाद्वारा डेरी सञ्चालन सुरु भएको छ ।
स्थानीय कृषकद्वारा उत्पादित दूधले बजार नपाएर दूध उत्पादक कृषक मार्कामा परिरहेका बेला कृषकद्वारा उत्पादित दूधलाई व्यवस्थित गर्न र बिक्रीका लागि प्रवद्र्धन मिलाउन डेरी सञ्चालन सुरु भएको हो ।
तत्काल उक्त सहकारी संस्थाबाट डेरी सञ्चालन सुरु भएपछि गाईघाट हिमाली टोलका करिब १ सय २५ घरभन्दा बढी कृषकद्वारा उत्पादित डेरीले खरिद गरेर बजार क्षेत्रमा बिक्रीको व्यवस्था मिलाएको सो संस्थाका अध्यक्ष किरण अधिकारीले बताए । झन्डै तीन लाखको लगानीबाट डेरी सुरु गरिएको र हाल चार जनाले रोजगारीसमेत पाएको अधिकारीले बताए ।
डेरी सञ्चालन सुरु भएपछि स्थानीय कृषकद्वारा उत्पादित दूधले बजार पाएको र अब दूध उत्पादनबाट समेत आम्दानी लिन सकिने स्थानीय कृषकद्वय खड्ग कार्की र नेत्रप्रसाद दाहालको धारणा छ । निकट भविष्यमा डेरीले आºना उत्पादन जिल्ला बाहिर, सप्तरी, सिरहा तथा विराटनगरसम्म विस्तार गर्ने संस्थाका पदाधिकारी बताउँछन् । हाल डेरीले प्रतिदिन दुई सय ५० लिटरदेखि तीन सय लिटरसम्म दूध खरिद गरेर बिक्री गर्ने गरेको छ । यसलाई वृद्धि गर्दै लगिनेसमेत संस्थाले जनाएको छ । डेरी सञ्चालनले तत्कालै स्थानीय दूध उत्पादक कृषक भने निकै लाभान्वित भएको स्थानीय कृषक बताउँछन् ।

प्रतिक्रिया