स्वास्थ्यले बल्ल पाउने भो १२औँ तहका कर्मचारी

काठमाडौं, २७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सात वर्षदेखि रिक्त रहेको १२औँ तह (विशिष्ट श्रेणी)मा बल्ल कर्मचारी बढुवा हुने भएका छन् । सचिवसरहको उच्च तहमा मन्त्रालयअन्तर्गतका कर्मचारीलाई बढुवा गर्न लागिएपछि सात वर्षपछि मन्त्रालयले १२औँ तहका विशिष्ट कर्मचारी पाउन लागेको हो ।
मन्त्रालयमा सचिवबाहेक चार जना १२औँ तहका कर्मचारीको दरवन्दी छ । चिकित्सा सेवा महाशाखा, नीति तथा योजना महाशाखा र अनुगमन महाशाखाका प्रमुख तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक १२औँ तहका चिकित्सक हुने प्रावधान छ । तर, ती महाशाखा र विभागका महानिर्देशकमा ११औँ तहका कर्मचारी छन् ।
मन्त्रालयमा ०६३ सालदेखि चारवटै पद रिक्त रहँदा महत्त्वपूर्ण जिम्मेवारी ११औँ तहका कर्मचारीले सम्हाल्दै आएका छन् । मन्त्रालयले ०५९ मा गरेको बढुवाका आधारमा ०६३ सम्म १२औँ तहका कर्मचारी कार्यरत थिए । उनीहरूको अवकासपछि हालसम्म १२औँ तहमा कर्मचारी बढुवा हुन सकेका थिएनन् । मन्त्रालयको १२औँ पदमा अन्तिमपटक डा.विष्णु पण्डित थिए ।
मन्त्रालयको विशिष्ट श्रेणीको पद लामोसमय रिक्त रहँदा पनि यसअघिका सचिवहरूले बढुवा समितिको बैठक राख्न पहल नगरेको तथा पछिल्लो समय पहल हुँदा पनि लोकसेवा आयोगले स्वास्थ्य सेवा ऐनको कारण देखाएर बढुवा प्रक्रिया रोकेको थियो । हालै मात्र राष्ट्रपति डा. रामवरण यादवले २९ चैत ०६९ मा स्वास्थ्य सेवा ऐन ०५३ को चौथो संशोधन विधेयक जारी गरेपछि बढुवाको बाटो खुलेको हो ।
मन्त्रालयअन्तर्गत ११औँ पदमा रही पाँच वर्ष सेवा पूरा गरेका २३ जनामध्ये चार जना १२औँ तहमा बढुवा हुनेछन् । यसका लागि बढुवा समितिले ६ जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको छ । लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य बढुवा समितिमा अध्यक्ष, मुख्यसचिव र विज्ञसहित तीन जना सदस्य र स्वास्थ्यसचिव समितिको सदस्यसचिव रहने व्यवस्था छ । ऐनमा बढुवाको आधारको स्पष्ट व्यवस्था भए पनि कार्यसम्पादन, यसअघिको जिम्मेवारी, शैक्षिक योग्यता आदिको आधारमा बढुवा गर्न लागिएको स्रोतको भनाइ छ ।
बढुवा प्रावधानअनुसार सबैभन्दा बढी अंक रहेको कार्यसम्पादन मूल्यांकनको आधार भने अन्तिम दुई वर्षको हुन्छ । यसमा सुपरीवेक्षकले २८, पुनरावलकनकर्ताले १२ र पुनरावलोकन समितिले १० नम्बर दिन पाउँछन् । यदि, मूल्यांकन फारम समयमा नभरेको भए पनि पछि भर्न पाइनेछ तर पछि भर्दा ५ नम्बर घट्नेछ । जेष्ठतामा प्रत्येक वर्षको २ नम्बर पाउने प्रावधान छ ।
१२औँ तहमा बढुवाका लागि योग्यता पुगेकामध्ये ११औँ तहमा १० वर्ष पूरा गरेकामा वीर अस्पतालमा कार्यरत चिकित्सक डा. लखन शाह, मन्त्रालयको चिकित्सा महाशाखा प्रमुखमा रहेका डा. तिर्थराज बुर्लाकोटी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिस्ट्रार डा. मुकुन्द पन्थी मात्र छन् । त्यसपछि जेष्ठतामा महिलातर्फ प्रसूति गृहकी निर्देशक डा. शिला बर्मा, प्रसूति गृहमै कार्यरत डा. पुष्पा चौधरी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. गीता शाक्य पर्दछन् ।
यसपछि वरिष्ठतामा मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. पदमबहादुर चन्द, परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. सनेन्द्रराज उप्रेती र राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्र प्रमुख डा.बालकृष्ण सुवेदी पर्छन । यी तीनै जना जनस्वास्थ्य क्षेत्रका विज्ञ चिकित्सक हुन् । मन्त्रालयका १२औँ तहका लागि जनस्वास्थ्य क्षेत्रका चिकित्सक आवश्यक पर्ने भएकाले अन्य कर्मचारीको तुलनामा यिनीहरु १२औँ तहमा बढुवा हुने सम्भावना पनि बढी रहेको स्रोतको भनाइ छ ।
मन्त्रालयका अनुसार बढुवाका लागि कार्यसम्पादन मूल्यांकनमा ९० नम्बरभन्दा बढी दिँदा समितिले स्पष्टिकरण दिनुपर्छ भने ७० भन्दा कम नम्बर दिँदा पनि सम्बन्धित व्यक्तिलाई भनाइ राख्ने अवसर दिनुपर्छ । मन्त्रालयको सचिव बढुवामा मुद्दा नलाग्ने भए पनि यो बढुवामा मुद्दा लाग्ने हुँदा बढुवा प्रक्रियालाई पारदर्शी र सर्वस्वीकार्य बनाउन चुनौतीपूर्ण रहेको मन्त्रालयका कर्मचारीको भनाइ छ । १२औं तहमा बढुवाका लागि जेष्ठताका आधारमा २०, भौगोलिक क्षेत्रमा काम गरेको आधारमा २५, कार्यसम्पादन आधारमा ४०, तालिमका आधारमा १ र शैक्षिक योग्यताका आधारमा १४ नम्बर पाउने प्रावधान छ ।
बढुवा हुनेको सूचीमा औषधि व्यवस्था विभागका प्रमुख राधारमणप्रसाद शाह पनि छन् । १२औँ तहमा सबै चिकित्सक मात्र बढुवा हुन हुन्न भन्ने आवाज पनि आइरहेकाले चिकित्सक रहेका शाहको सम्भावना बढेको छ । तर, उनी यसै वर्ष उमेर हदका कारण अवकाश हुन लागेका छन् । बढुवाको सूचीमा रहेकोमा डा. बर्मा र हाल स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका डा. मिङमार ग्याल्जेन शेर्पा पनि यसै वर्ष अवकाश पाउने सूचीमा छन् ।
बढुवाको सूचीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. बिनोद तुलाचन, वीर अस्पतालका डा. राजेन्द्र अग्रवाल, कान्ति बाल अस्पतालका डा. राजेन सुन्दर श्रेष्ठ, वीर अस्पतालका डा. मधुरदेव भट्टराई, वीर अस्पतालकै डा. वीरेन्द्रबहादुर सिंह, भक्तपुर अस्पतालका डा. विमलप्रसाद ढकाल, कान्ति बाल अस्पतालका डा. चन्देश्वर महासेठ, वीर अस्पतालका डा. दिनेश श्रेष्ठ, प्रसूतिगृहका डा. धनराज अर्याल र डा. किरण रेग्मी, कोसी अञ्चल अस्पतालका डा. उमाकान्त झा र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. दामोदरप्रसाद पोख्रेल पनि छन् ।
२०५९ मा भएको बढुवामा आठ जनाको नाम सिफारिस भएको थियो । तत्कालीन सचिव विजयराज भट्टराईले राजनीतिक दबाबमा आठ जनाको नाम सिफारिस गरेका थिए । त्यतिबेला डा. बिडी चटौत, डा. महावीरकृष्ण मल्ल, डा. निराकारमान श्रेष्ठ, डा. विष्णु पण्डित, डा. बेनीबहादुर कार्की, डा. यशोबर्धन प्रधान, डा. हरिनारायण आचार्य र डा. लक्ष्मीराज पाठकको नाम सिफारिस भएकोमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले क्रमसंख्याका आधारमा बढुवा गर्न निर्देशन दिएका थिए । त्यतिबेला नियम भंग गर्दै मन्त्रिपरिषद्ले बजेट भाषणकै दिन बढुवाको निर्णय गरेको थियो । तत्कालीन अवस्थामा बढुवा भएकामध्ये पहिला डा. बिडी चटौतले अवकाश पाएका थिए । त्यसपछि डा. निराकारमान श्रेष्ठ स्वास्थ्यसचिव भएका थिए ।

प्रतिक्रिया