घाँटी रेटेर हत्या गरिएको शव भेटियो

Rautahat Districtरौतहट, २६ वैशाख । रौतहट जिल्लाको मर्यादपुर गाविस वडा नम्बर १ मा अनुमानित ४२ बर्षीय एक पुरुषको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको छ । वेवारिसे अवस्थामा आज बिहान  फेला परेको उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसै साता जिल्लाका विभिन्न स्थानबाट चार पुरुषका वेवारिसे शव फेला परेका छन् । ती चारै शवको सनाखत हुन सकेको छैन । शनिवार पतौरा गाविस वडा नम्बर ६ स्थित भकुवा खोलामा बोरामा हालेर फालिएको शव भेटिए पछि क्रमश त्यस पछिका दिनहरु शवहरु भेट्टिन थालेको छ । आइतवार गम्हरीया विर्ता गाविस वडा नम्बर ६ स्थित आपको बगैचामा रुख माथि झुन्डिएको शव फेला परेको थियो भने बुधवार जुडिबेला ९ स्थित जंगलमा झुण्डिएको अवस्थामा ६० वर्षीय एक पुरुषको शव फेला परेको प्रहरी उपरीक्षक गोविन्द परियारले जनाएका छन ।

फेला परेका शवहरु मध्ये दुई जनालाई हत्या गरेर फालेको र दुई जनाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी उपरीक्षक परियारले शवका बारेमा अनुसन्धान भईरहेको बताए । दिनै पिच्छे शव फेला पर्न थालेपछि स्थानीयहरु त्रशित बनेका छन् । अन्य ठाँउबाट अपहरण गरेर रौतहटका विभिन्न स्थानमा अपराधिक समूहले ती व्यक्तिको हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ ।

प्रतिक्रिया