मिस नेपाल युएसएको तेस्रो संस्करण सुरु

Tarunsकाठमाडौ : मिस नेपाल युएसएको तेस्रो संस्करण सुरु भएको छ । दुई वर्षअगाडि पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा मिस नेपाल युएसएको आयोजना गर्न सफल प्लानेटकै आयोजनामै तेस्रो संस्करण हुन लागेको हो ।
आयोजक संस्था ई–प्लानेटले बुधबार एक विज्ञप्ति जारी गर्दै मिस नेपाल युएसएको ०१३ आयोजना हुन लागेको र आवेदन पनि खुला रहेको जानकारी गराएको छ ।
ई–प्लानेटले अमेरिकाको इभेन्ट प्लानेट आइएनसीको सहकार्यमा यस वर्षको कार्यक्रम गर्ने भएको छ । आगामी अगस्त १७ अर्थात् भदौ १ गते शनिबार अमेरिकाको क्विन्स थिएटरमा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि आगामी जुलाई ७ भित्र आवेदन दिनुपर्ने प्रावधान आयोजक राखेको छ । इच्छुकले आयोजकको वेबसाइटबाट पनि सिधै फर्म लिनसक्ने व्यवस्था छ ।
युवामा सशक्तीकरण नेपाललाई बढुवा भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका शीर्ष उपाधि विजयीले पाँच हजार अमेरिकी डलरका साथमा छात्रवृत्ति, नेपाल भ्रमणका लागि हवाई टिकटलगायत उपहार पाउनेछन् । त्यस्तै फस्ट र सेकेन्ड रनरअपले क्रमश: तीन र दुई हजार अमेरिकी डलरका साथमा छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । कार्यक्रममा अन्य केही टाइटलद्वारा पनि पुरस्कृत गरिनेछ ।
अघिल्लो वर्षका तुलनामा भव्य तामझामका साथ आयोजना हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पहिलो चरणको छनोटमा परेका २० प्रतिस्पर्धीबीच हुनेछ । छनोट भएका प्रतियोगीलाई मिस नेपाल २००२ माल्भिका सुब्बाले कोरियोग्राफी र भिक्टोरिया सेक्रेटकी चर्चित मोडेल मैटी मार्टिन्जले मोडलिङ प्रशिक्ष दिनेछिन् । मियामी फेसन विकमा रनवे मोडेलका रूपमा सहभागी मार्टिन्जको प्रशिक्षणले प्रतियोगीको प्रतिभा प्रस्फुटन हुने आयोजकले विश्वास छ । नेपाली समुदायको सौन्दर्य प्रतियोगितामा विदेशी मोडेलले प्रशिक्षण दिने यो नै पहिलो हो ।
१६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले सहभागिता जनाउन सक्ने प्रतियोगिताको पहिलो र दोस्रो संस्करणका विजेता क्रमश: सुजिता बस्नेत र आस्था श्रेष्ठ भएका थिए ।
देश छोडेर विदेशमा बसेका युवतीको प्रतिभा प्रस्फुटनका साथै देशको कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र नेपाल तथा अमेरिकाबीचको सम्बन्ध प्रगाढ बनाउन प्रतियोगिता सहायकसिद्ध हुने विश्वास आयोजकको छ । प्रतियोगिताको मुख्य प्रायोजक भोएज द सांग्रिला (अ सो केस अफ नेपाल) र सहप्रयोजक नेपाल पर्यटन बोर्ड, हाइट हिमालयन टेलिभिजन, एबिसिड न्युर्योक म्यागेजिनलगायत छन् । (सौस)

प्रतिक्रिया