मूल्यसँगै लगानी घट्यो

Gold-Shopकाठमाडौं, २६ वैशाख । सुनको मूल्यसँगै लगानी पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा प्रतितोला ५ सय रुपियाँले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला ५१ हजार ८ सय मूल्य निर्धारण गरी कारोबार गरेको छ । यसअघि प्रतितोला ५२ हजार ३ सय रुपियाँमा सुन कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको मूल्यमा पनि ५ सय ५० ले ह्रास आएको छ । ५२ हजार ५० रुपियाँ रहेकामा प्रतितोला ५१ हजार ५ सय ५० पुगेको महासंघले जनाएको छ ।
असली चाँदीको मूल्य भने स्थिर छ । यसको मूल्य प्रतितोला ९ सय रुपियाँ छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन एक हजार ४ सय ६५ अमेरिकी डलर कायम रहेकोमा बुधबार प्रतिऔँस १० अमेरिकी डलरले कमी भई एक हजार ४ सय ५५ डलरमा झरेको जानकारी दिए ।
त्यसैगरी, डलरको विनिमय दरको तुलनामा नेपाली रुपियाँ बलियो भएका कारण सोको मूल्य सस्तो भएको छ । प्रतिडलर ८७ दशमलव १५ रहेकामा बुधबार ८६ दशमलव ८० रुपियाँ छ ।
अध्यक्ष शाक्यले अहिले विवाहको लगन भएकाले दैनिक ४० किलो सुनको माग बजारमा रहेको तर आपूर्ति भने दैनिक १५ किलो मात्र हुने गरेको बताए । सुनको आपूर्ति हुन नसकेकाले कारोबारमा समस्या रहेको उनको भनाइ थियो ।
यसैबीच, भोजपुरबाट प्राप्त समाचारअनुसार सामाजिक प्रतिष्ठासँग गाँसिएको सुनका गरगहनामा विगतमा सर्वसाधारणले आम्दानीका धेरै हिस्सा लगानी गर्दै आएको भए पनि यतिबेला लगानी न्यून छ ।  विश्वबजारमा सुनको मूल्यमा आएको कमीले काठमाडौंमा मात्र होइन, दुर्गम जिल्ला भोजपुरमा पनि सुन अभाव देखिएपछि सर्वसाधारणले सुन खरिद गर्न पाएका छैनन् ।
ग्रामीण भेगमा बसोवास गर्दै आएका सर्वसाधारणले विप्रेषणबाट सुन खरिद गर्दै आएका छन् । मूल्य घटेकाले व्यापारीले सुन बेच्न छाडेपछि दुर्गम जिल्ला भोजपुरमा पनि सुन अभाव देखिएको छ भने सुन कारोबारमा आएको मन्दीले पनि व्यापारी प्रभावित भएका छन् ।
भोजपुर–४ का सुन व्यवसायी रोहित विश्वकर्माका अनुसार काठमाडौंमा सुन पाइँदैन, महँगोमा ल्याएको सुन सस्तोमा बेच्नुभन्दा नबेच्नु नै ठीक ठानेर कसैले बिक्री नै गर्दैनन् । विवाहका लागि भनेर अधिकांश मानिस सुन किन्न आइरहेका छन् । सुन नै छैन । हामीले पनि काठमाडांैबाट सुन ल्याउने हो तर हामीले नै कालोबजारीमार्फत ल्याउनुपर्छ भन्ने सुन व्यापारीको भनाइ छ ।
भोजपुरजस्तो दुर्गम ठाउँमा भनेका बेला पैसा नपाइने भएकाले चाहेका बेला तुरुन्तै पैसामा परिणत गर्न मिल्ने भएका कारण पनि जे–जसरी भए पनि सम्पत्तिको नाममा सुन जोड्ने प्रचलन रहिरहेको छ । अझ महिलाले सुनलाई प्रतिष्ठासँग दाँज्ने गरेकाले पुरुषभन्दा महिला बढी सुनमा लगानी गर्न अग्रसर हुन्छन् । अत्यधिक मात्रामा लाहुरे हुने र अधिकांश युवा वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये भोजपुर अग्रपंक्तिमा पर्छ ।
वैदेशिक रोजगारीमा गएकाहरूले घरमा पठाएको रकममा करिब ३० देखि ४० प्रतिशतभन्दा बढी सुनमा लगानी हुँदै आएको सुन व्यवसायी बताउँछन् । लक्ष्मी ज्वेलर्स उद्योगका रोहित विक पुनका अनुसार गाउँबाट आएका मानिसले बैंक वा आइएमईबाट ६० हजार रकम झिकेको छ भने ३० हजारजतिको त सुन नै किनेर लैजान्छन् । भोजपुर सदरमुकाममा मात्र दैनिक २० देखि २५ लाखभन्दा बढीको सुन कारोबार हँुदै आएको छ । विभिन्न माध्यमबाट भोजपुरमा मात्र दैनिक करिब ७०/८० लाखभन्दा बढी विप्रेषण रकम भित्रिने गरेको अनुमान छ ।

प्रतिक्रिया