निसीखोला दोस्रो लघुजलविद्युत् सञ्चालन

cflबाग्लुङ, २६ वैशाख । सय किलोवाट क्षमताको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र र गाविसलगायतको आर्थिक सहयोग, स्थानीय श्रमदान, ओसियन पावर सर्भिस बुटवलको प्राविधिक सहयोगमा निर्माण भएको आयोजनाबाट उत्पादित बिजुलीबाट ९ सय ६७ घरधुरीमा बत्ती बलेको आयोजनाका अध्यक्ष तारानाथ शर्माले बताए ।
कुल तीन करोड ४३ लाख ६६ हजार रुपियाँ लागतमा निर्माण भएको आयोजनाले बोहरागाउँ गाविस वडा नं. १, २, ३, ४, ६, ८ र ९ का बासिन्दा लाभान्वित भएको शर्माले जानकारी दिए । लघुजलविद्युत् आयोजनाबाट गाउँ–गाउँमा बिजुली बत्तीको सेवा पुग्न थालेपछि जिल्लालाई नै जलविद्युत्को जिल्लाका रूपमा विकास गर्न सरोकारीहरू कस्सिएका छन् ।
आगामी सन् २०१७ भित्र उज्यालो जिल्ला घोषणा गर्ने प्रतिबद्धता यसअघि नै जिल्ला विकास समितिले गरिसकेको छ । हाल बाग्लुङ जिल्लामा २७ हजारभन्दा बढी घरधुरीमा बिजुली बत्ती बलेको जिल्ला ऊर्जा शाखाले जनाएको छ ।
बोहरागाउँ गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस पनि घोषणा गरिएको छ । बोहरागाउँ जिल्लाको दोस्रो घरभित्रको धुवाँमुक्त गाविस भएको हो । गाविसमा रहेका सबै घरधुरीमा सुधारिएको चुलो निर्माण भएपछि घरभित्रको धुवाँमुक्त गाउँ घोषणा गरिने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया