असन्तुष्ट दलहरुसँग परामर्श गर्ने सहमति

काठमाडौं, २५ वैशाख । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका कांग्रेस सभपाति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा बुधबार भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको हो । ‘संविधानसभाको निर्वाचनको मिति घोषाण गर्ने विषयमा कुराकानी भएको छ,’ भेटमा सहभागी एक नेताले भने, ‘निर्वाचन समबन्धि कानून र अप्ठेरा विषयलाई छिटो मिलाउने सहमति भएको छ ।’
समितिले मंसिरमा निर्वाचन हुने जनाए पनि सरकारले हालसम्म निर्वाचनको मिति घोषणा गरेको छैन ।
त्यसै गरेर दाहाल र कोइरालाबीचको भेटमा आन्दोलनरत दलहरुसँग छिटो वार्ता गर्ने सहमति पनि भएको छ । आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न पनि उनीहरु सहमत भएको कोइरालाका सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।

प्रतिक्रिया