आत्महत्या गर्ने अमेरिकी बढे

hatya aatmaविगत एक दशकमा अमेरिकामा आत्महत्या गर्ने प्रौढहरूको सूची निकै बाक्लिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले आफ्नो पछिल्लो अध्ययन रिपोर्टमा यो कुरा उल्लेख गरेको हो ।
सन् १९९९ देखि २०१० का बीच करिब ३५ देखि ६४ वर्षका गोरा नागरिक तथा भारतबाट अमेरिका छिरी स्थायी बसोबास जमाएकाहरूमध्ये आत्महत्याको यस्तो तीव्रता भेटिएको जनाइएको छ । यद्यपि सिडिसीले आत्महत्याको यो बाक्लो शृंखलाको कारण भने पत्ता लगाउन सकेको छैन । अध्ययनका दौरान अमेरिकी युवा तथा वयष्कहरूका बीच आत्महत्या निवारण योजना सञ्चालन आवश्यक देखिएको उसले उल्लेख गरेको छ । रिपोर्टमा अन्य उमेरसमूहबीच कुनै विशेष परिवर्तन देखिए वा नदेखिएबारे कुनै चर्चा गरिएको छैन । सन् २००९ को वर्षमा मात्रै आत्महत्याबाट मर्ने अमेरिकीहरूको आँकडा सवारी दुर्घटनामा मर्नेहरूको भन्दा निकै ठूलो रह्यो । सिडिसीका अनुसार २०१० मा ३८ हजार ३ सय ५० व्यक्तिले आत्महत्या गरे, जुन अमेरिकी समाजमा देखिएका मृत्युका प्रमुख कारणमध्ये १०औँ स्थानको मानियो । तथ्यांकअनुसार ३५ देखि ६४ वर्ष उमेरसमूहका करिब ५७ प्रतिशत व्यक्तिले आत्महत्या गरेका छन् । सिडिसीले यो उमेरसमूहमा आत्महत्या गर्ने अमेरिकीको दर सन् १९९९ मा प्रति १ लाख जनसंख्यामा १४ जना रहेकोमा २०१० बढेर १८ जना पुगेको छ । अमेरिकास्थित प्रवासी भारतीयबीच आत्महत्या गर्नेको दर ६५ प्रति शत देखियो । यो आँकडा पनि प्रति १ लाखमा ११ जनाबाट बढेर अहिले १९ पुगेको छ । गोरा अमेरिकीहरूमा आत्महत्याको तीव्रता ४० प्रतिशतले बढेको छ । प्रतिलाख १६ जनाको आँकडा बढेर अहिले २२ जना पुगेको छ ।
आत्महत्याको दरले अनुमानविपरीत फड्का हानेको यो दशक आर्थिक मन्दीले पनि पिटियो । तर, यही कारणले आत्महत्यादर बढेको मान्न सकिने आधार पनि विश्लेषणकहरूले भेट्न सकेका छैनन् । ‘आखिर मूल अमेरिकी र गोराहरूबीच आत्महत्याको दर किन यसरी असंगत तरिकाले बढिरहेछ ?’ विश्लेषकहरूल मथिंगल खियाइरहेकै छन् । शोध के खुलाइएको छ भने ५० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरू जो तीव्रतासाथ आत्महत्या गरिरहेछन्, उनीहरू प्राय: अलगअलग पृष्ठभूमिका हुन् ।
अमेरिकी प्रौढहरूमा गोली हानेर आत्महत्या गर्नु अब मृत्यु अँगाल्ने सबैभन्दा सजिलो माध्यम बन्न थालेको छ । सन् २०१० मा आत्महत्या गर्नेमध्ये ४८ प्रतिशतले आफूलाई गोली हानेका थिए । यो उमेर समूहमा ड्रगको अधिक सेवनबाट मृत्युवरण गर्नेहरूका तुलनामा पासो थापेर मर्नेहरूको संख्या बढी छ । गोली हान्नुबाहेक आत्महत्या गर्ने अर्को सजिलो उपायका रूपमा फाँसीलाई नै रोज्ने गरेको पाइन्छ । (एजेन्सी)

प्रतिक्रिया