खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कागजी तयारी

सिरहा, २४ वैशाख । सिरहालाई सन् २०१६ सम्म खुला दिसामुक्त जिल्ला घोषणा गर्न सदरमुकाममा आयोजित एक कार्यक्रममा सरोकारवाला निकाय जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले नै गलत तथ्यांक प्रस्तुत गरेको छ । जिल्लाका एक सय छ वटै गाविस र दुई नगरपालिकाका सचिवलाई दिइएको अभिमुखीकरण गोष्ठीमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले वितरण गरेको एक तथ्यांकमा सिरहाभर १७ दशमलव ३५ प्रतिशत घरधुरीले मात्र शौचालयको प्रयोग गरेको देखाइएको थियो । जबकी सोही गोष्ठीमा सिरहाका स्थानीय विकास अधिकारी विजयराज सुवेदीले जिल्लाभरी २१ दशमलव २ प्रतिशत घरधुरीले शौचालय प्रयोग गरेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
एउटै कार्यक्रममा दुई सरोकारवाला प्रमुखले एउटै विषयको दुई फरक– फरक तथ्यांक सार्वजनिक गरेपछि सोही विषयमा कार्यक्रम हलभित्र गाइगुइ चल्दै गर्दा सञ्चारकर्मीले तत्कालै तथ्यांकको आधिकारितामाथि प्रश्न तेर्साएपछि त्यहाँ दुवै निकायका प्रमुखबीच केही बेर मुख हेराहेर भएको थियो । त्यसपछि प्रमुख अतिथिसमेत रहेका सहरी विकास मन्त्रालयका सहसचिव तथा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष अवधकिशोर मिश्र र सोही मन्त्रालयको खानेपानी तथा ढल निकास विभाग अन्तर्गत वातावरणीय तथा सरसफाइ शाखाका प्रमुख रामचन्द्र साह दुवैले आफू मातहत रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तर्फबाट वितरण भएको तथ्यांक गलत भएको स्वीकार गरे । डिभिजन कार्यालयका प्रमुख दशैं मण्डलले गोष्ठीमा एक लाख आठ हजार छ सय ३५ कुल घरधुरी रहेको सिरहामा १७ दशमलव ३५ प्रतिशतले १८ हजार ८४६ घरधुरीले मात्र शौचालय प्रयोग गरेको तथ्यांक प्रस्तुत गरेका थिए । तर, स्थानीय विकास अधिकारी विजयराज सुवेदीले एक लाख १७ लाख ९६२ कुल घरधुरी रहेको सिरहामा २१ दशमलव २ प्रतिशतले २५ हजार आठ घरधुरीले निजी शौचालय प्रयोग गरेको तथ्यांक प्रस्तुत गरे ।

प्रतिक्रिया