हतियारका विषयमा एमाओवादीलाई नै थाहा छ

maobadi flagकाठमाडौं, २३ वैशाख । नेकपा–माओवादीले नेतृत्वको सुरक्षाका लागि लिईएको हतियारका सम्बन्धमा आफूहरु जवाफदेही नरहेको जनाएको छ ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर हतियार राज्यलाई बुझाए/नबुझाए सम्बन्धि विषयको जवाफदेही आफूहरु नहुँने जनाएका छन् ।
नेतृत्व सुरक्षाका लागि राखिएका हतियार राज्यलाई नबुझाएको आरोप लागिरहेका बेला नेकपा–माओवादीले हतियारका सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको जनाएको हो ।
‘पार्टी एउटै हुँदाको समयमा एमाओवादीका अध्यक्ष नै त्यसप्रकारका हतियार सम्बन्धि विषयको मुख्य जिम्मेवार भएको र के कति हतियार बुझाइयो वा बुझाइएन भन्ने कुराको जवाफदेही समेत रहेको कुरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
उनले हतियार सम्बन्धमा आफ्नो पार्टीलाई आरोप लगाएर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाए ।
‘नेतृत्वको सुरक्षार्थ राखिएका हतियारहरु फिर्ता गर्नेबारे समयसीमा तोकी जानकारी गराइएको र ती हतियार अझै फिर्ता नगरिएको भनी विभिन्न माध्यमद्वारा संकेत गरिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया