नभएका विद्यालयका नाममा सेवा सुविधा!

राजविराज, २३ वैशाख । हुदै नभएका दुईवटा विद्यालयले वर्षौदेखि जिल्ला शिक्षा कार्यालय सप्तरी मार्फत सेवा सुविधा लिदै आएको खुलासा भएको छ । पछिल्लो पटक जिल्ला शिक्षा कार्यालय सप्तरीले चलाएको ‘हेड काउण्ट अभियान’ का क्रममा दुई विद्यालय फेला नपरेपछि यस्तो रहस्य खुलेको हो ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले गत मंसिरमा चलाएको अभियानका क्रममा वथनाहा–३ मा रहेको भनिएको राष्ट्रिय प्राथमिक विद्यालय र देउरी भरुवा ४ मा रहेको भनिएको खाडो कृषक प्राथमिक विद्यालय फेला परेनन् । यद्यपी दुवै विद्यालयले सरकारद्वारा प्राप्त सेवा सुविधा भने लिदै आएको पाईएपछि मंसिरबाटै सम्पुर्ण सुविधा वन्द गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले उक्त विद्यालयको वारेमा थप जानकारी उपलब्ध गराएको छैन । दुवै विद्यालयले अनुमति पाएको मिति, सेवासुविधा उपलब्ध गराईएको अन्तिम मिति र विद्यालयका प्रअ लगायतको दरवन्दी संख्याका विषयमा हालसम्म जिल्ला शिक्षा कार्यालयले विवरण उपलब्ध गराएको छैन । सम्वन्धित क्षेत्रका श्रोतकेन्द्र मार्फत विद्यालय नभएको जानकारी आएपछि थप सम्पुर्ण सेवा सुविधा रोकी थप अनुसन्धान भईरहेको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले वताए ।

प्रतिक्रिया