नेपाल डिभिजन टुमा

बर्मुडा, २३ वैशाख । नेपाली क्रिकेट टोली ऐतिहासिक सफलता हात पार्दै सन् २०१५ मा हुने विश्वकपको छनोट चरणमा पुग्न सफल भएको छ । वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको शीर्ष दुई स्थानमा रहँदै नेपाल विश्वकप खेल्ने सपनाको नजिक पुगेको हो । लिग चरणको अन्तिम खेलमा इटालीलाई ८ विकेटले पराजित गरेको नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै डिभिजन टुमा बढुवा भएको हो ।
इटालीविरुद्ध फराकिलो अन्तरको जित र बर्मुडाले अमेरिकालाई पराजित गरेका खण्डमा मात्र विश्वकप छनोटमा सम्भावना हुने अवस्थामा नेपालले इटालीलाई खेल सकिन २ सय ११ बल बाँकी छँदै पराजित गर्‍यो । उता, बमुर्डाले पनि अमेरिकालाई ५ विकेटले पराजित गरेपछि नेपालको सपना साकार भएको हो । सेन्ट डेभिस क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङका लागि उत्रिएको इटालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय २६ मात्रै जोड्न सक्यो । नेपाली बलरहरूको कसिलो बलिङसामु इटालियन ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन् । कार्ल सान्डरीले ३९ र पिटर पेट्रिकोलाले ३१ रन जोड्नबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन । इटालीका ५ ब्याट्सम्यान विनादोहोरो अंकको स्कोर नै पविलियन फर्केका थिए । म्यान अफ द म्याच राहुल विश्वकर्मा र सञ्जम रेग्मीले समान ३–३ विकेट लिए । शक्ति गौचनले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य पछ्याएको नेपाललाई उच्च रन औसत कायम राख्न २० ओभर अगावै खेल सक्नुपर्ने थियो । यस्तोमा ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले पहिलो विकेटका लागि १२ ओभरमा ८७ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र प्रदीपले २ ओभर ३ बलमा ३२ रनको साझेदारी गरेपछि नेपालले सहज जित दर्ता गरेको हो । १ सय २८ रनको लक्ष्य नेपालले १४ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।
३५ बल खेलेका सुवास खकुरेलले २ छक्का र ४ चौकाको मद्दतमा ४७ रन जोडे । पारस खड्काले ८ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २२ रनको बिस्फोटक इनिङ खेले । अविजित रहेका प्रदीप ऐरीले ४२ रन जोडे । अन्तिम २ बल मात्रै खेलेका ज्ञानेन्द्र मल्ल १ छक्का र १ चौकासहित १० रनमा अविजित रहे । अर्को खेलमा अमेरिकाविरुद्ध २ सय २१ रनको लक्ष्य पछ्याएको आयोजक बर्मुडाले खेल सकिन ३२ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो । अमेरिकालाई पराजित गर्ने क्रममा कप्तान क्रिस डगोल्सले ८९ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । बमुर्डाले जित निकालेर नेपाललाई मात्र सहयोग गरेन स्वयं उसलाई पनि रेलिगेसनबाट बचाउनसमेत सहयोग गर्‍र्यो । बमुर्डाले खेल्न सक्नुअघि नै नेपालको खेल सकिएपछि नेपाली खेलाडी सो खेलको नतिजा कुरेर बसेका थिए । खेल सकिएलगत्तै रन औसतमा अमेरिकालाई पछि पार्दै नेपाल विश्वकप छनोटका लागि छानिएपछि नेपाली खेलाडी र समर्थकमा खुसी छाएको थियो । लिग चरणका सुरुका २ खेलमा पराजित भएको नेपाल त्यसपछि भने सम्हालिएको थियो । पाँच खेलमध्ये चारमा विजी हुँदै युगान्डा डिभिजन थ्रीको शीर्ष स्थानमा रहेर टुमा बढुवा भयो भने ओमान र इटाली भने डिभिजन चारमा रेलिगेट भएका छन् ।

प्रतिक्रिया