नेपालको लगातार दोस्रो जित

क्वालालम्पुर : मलेसियामा जारी अन्डर नाइन्टिन एलिट कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो । कतारले दिएको ९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १० दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि डेब्यु गरेका अमित श्रेष्ठले अविजित ७० रनको योगदान दिए । उनले ३३ बलको सामना गर्दै ११ चौक्का र एक छक्का प्रहार गरेका थिए । यस्तै, ओपनर निश्चल पाण्डेले १२ तथा हरिशंकर शाहले ८ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन मात्र जोडेको थियो । कतारलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द म्याच अभिनाश कर्णले चार विकेट लिए भने सुशान्त भारीले दुई तथा निश्चल कार्की र भुवन कार्कीले समान एक–एक विकेट लिए ।
कतारका उजिर अहमदले सर्वाधिक २४ रन बनाए भने मर्जिमहोमद वेगले १६, सायद स्वफनले १४ तथा जहागिर इसानले १२ रन जोडेका थिए । कतारका तीन ब्याट्स म्यान खाता नै नखोली पेभिलियन फर्किएका थिए । नेपालले पहिलो खेलमा कुबेत माथि ८४ रनको जित दर्ता गरेको थियो । समूह ‘बी’को शीर्ष स्थानमा रहेको नेपालले सोमबार बहराइनको सामना गर्नेछ । (एजेन्सी)

प्रतिक्रिया