नि:शुल्क विद्युत् मिटरबाट लाभान्वित भएनन् दलित

राजविराज, २२ वैशाख । सप्तरीका दलित परिवारका गरिब जनताका लागि सरकारले गत वर्ष दिएको ‘फ्रि विद्युत् मिटर’ वितरण हुन नसकी फिर्ता भएको खुलेको छ । जिम्मेवार निकायको बेवास्ताका कारण लक्षितवर्गले जानकारी नै नपाई विद्युत् मिटर फिर्ता भएको हो ।
आर्थिक वर्ष ०६९/७० का लागि सरकारले सप्तरीमा चार सय विद्युत् मिटर पठाएको थियो । तर, समयमा त्यसको जानकारी नपाएका कारण मिटर माग्ने व्यक्ति नै नआएपछि तीन सय ५० मिटर फिर्ता भएको हो । असारको अन्तमा करिब ५० वटा मिटर भने वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
वितरणकेन्द्रले समयमा जानकारी नै नदिई मिटर फिर्ता पठाएको सर्वसाधारणको आरोप छ । असारको अन्तिम समयमा जानकारी पाए लगत्तै हतार–हतार प्रक्रिया सुरु गरेर केही व्यक्तिले मिटर लिए पनि अधिकांश मिटर फिर्ता भएको दलित अगुवाहरूले आरोप लगाए । यद्यपि, वितरण केन्द्रले भने आफूहरूलाई नै मिटर समयमा उपलब्ध नभएका कारण जानकारी ढिलो भएको जनाएको छ । कार्यालयले अन्तिम समयमा जानकारी पाएको जानकारी गराउँदै आफूहरूले सक्दो प्रयास गरेर ५० थान मिटर वितरण गरेको वितरणकेन्द्र प्रमुख शम्भु कुसियत यादवले बताए ।

प्रतिक्रिया