अनियमितता गर्ने प्रअलाई कारबाही भएन

saptariराजविराज, २२ वैशाख । भौतिक संरचना लगायतका विभिन्न अनुदान रकममा लाखौँको  अनियमितता गर्ने सप्तरीको दर्जनौँ विद्यालयका प्रधानाध्यापक विरुद्ध बर्सांदेखि उजुरी परे पनि हालसम्म कारबाही भएको छैन । विद्यालयको अनुदान रकम अनियमितता गर्ने प्रधानाध्यापकहरू विरुद्ध सिडिओ कार्यालयमा उजुरी परेको वर्सांै बितिसक्दासमेत उनीहरू विरुद्ध कारबाही हुन नसकेको हो ।
जिल्लाको मानराजा गाविसस्थित चुन्नी उच्च माविका तत्कालीन प्रअ रमाकान्त यादवले ०५३ सालमा विद्यालयको ५३ लाख रुपियाँ अनियमितता गरेको आरोप लागेको छ । स्थानीय दीपेन्द्र यादवले उनीविरुद्ध उजुरी दिएपछि यादवले ११ लाख रुपियाँ अनियमितता गरेको स्विकार्दै उक्त रकम तिर्ने कबोल गरेका थिए । तर, हालसम्म उक्त रकमसमेत विद्यालयको खातामा दाखिला नभएको र त्यस विरुद्ध कुनै कारबाहीसमेत नभएको स्थानीयहरू बताउँछन् ।
यसैगरी कट्टीप्रवाह प्राविका तत्कालीन प्रअ चन्द्रदेवकुमार यादवले ०६७ सालमा चार वटा ब्लक र एउटा शौचालय निर्माणका लागि विद्यालयमा आएको करिब २५ लाख अनियमितता गरेको भन्दै उजुरी परेको छ । उनलेसमेत ११ लाख रुपियाँ अनियमितता गरेको स्विकारेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रअ यादवले दिएको बयानअनुसार तत्कालीन जिल्ला शिक्षा अधिकारी केदार तिवारी र उनले अनियमितता गरेको रकम आधा–आधा बाँडेका थिए ।
उनीहरू जस्तै सप्तरीका करिब १ सय प्रधानाध्यापक विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेका छन् । ०६० सालदेखि थन्किएका उजुरी उपर हालसम्म कुनै ठोस कारबाही हुन सकेको छैन । यद्यपि, चरम अनियमितता गर्ने विद्यालयहरूको रिपोर्टिङ गर्ने काम भइरहेको र त्यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि लेखी पठाइने सिडिओ कार्यालयका शाखा अधिकृत विष्णुरञ्जन बरालले जानकारी दिए । शाखा अधिकृत बरालले दिएको जानकारीअनुसार कार्यालयमा परेका उजुरीमध्ये करिब एक दर्जन विद्यालयमा गम्भीर प्रकारका अनियमितता छन् भने अन्य विद्यालयमा खाजा भत्ता, दलित छात्रवृत्ति, व्यवस्थापन समितिका समस्यालगायतका विवाद छन् । अनियमिततामा मुछिएका केही विद्यालयको फाइल तयार गरी कारबाहीका लागि अख्तियार पठाउने तयारी भइसकेको जानकारी दिँदै तत्कालै भएको सिडिओको सरुवाले उक्त कामसमेत प्रभावित भएको बरालले वताए ।

प्रतिक्रिया