झूठो बोल्यो सर्वोच्च

Sarbochhaकाठमाडौ, २१ वैशाख । न्यायालयले असत्य र झूठलाई परास्त गरी सत्यको विजय गराउने विश्वास संसारभर गरिन्छ । तर, नेपालको सर्वोच्चअदालत भने आफैँ झूठो बोल्न थालेको छ ।
सर्वोच्चले विगत तीन दिनदेखि पत्रकारहरूलाई समाचार संकलन गर्न इजलासमा जानबाट रोक लगाएको थियो । अदालतको समाचार संकलन गर्ने पत्रकारहरूको संस्था कानुन तथा संवैधानिक पत्रकार मञ्च र प्रेस चौतारी नेपालले त विज्ञप्ति निकालेर त्यसको भत्र्सनासमेत गरे ।
तर, शुक्रबार सर्वोच्चले जारी गरेको विज्ञप्तिमा ‘कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छैन’ भनेर झूठको सहारा लिइएको छ । सञ्चारमाध्यममा आएका समाचार कपोलकल्पित र भ्रामक रहेको दाबी विज्ञप्तिमा गरिएको छ । ‘कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छैन, पत्रिकाले लेखेको समाचार असत्य, कपोलकल्पित भ्रामक हो,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वाेच्च अदालतले झूठो विज्ञप्ति निकालेपछि अदालती रिर्पोटिङ गर्ने पत्रकारहरू तीन छक परेका छन् । ‘एकाएक इजलास प्रवेशमा रोक नलाएको विज्ञप्ति प्रवक्ता श्रीकान्त पौडेलबाट आउँदा हामी तीन छक परेका छौँ,’ कानुन तथा संवैधानिक पत्रकार मञ्चका महासचिव डिल्ली आचार्यले भने ।
सर्वाेच्च अदालतले १७ वैशाखदेखि पत्रकारलाई इजलासमा पुगेर समाचार संकलन गर्न रोक लगाएपछि कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र रजिस्टार लोहित चन्दसँग पत्रकारहरूले छलफल पनि गरिसकेका छन् । तर, सर्वाेच्चको विज्ञप्तिमा उल्टै ‘पत्रपत्रिकाले स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउन थालेको’ आरोप लगाइएको छ । ‘सर्वोच्च अदालतबाट पत्रकारहरूलाई खुला इजलास प्रवेश र अदालती समाचार प्रकाशनमा रोक नलगाइएको बेहोरा स्पष्ट गर्न चाहन्छु,’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत सोमबार पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन मिल्ने या नमिल्ने विषयमा सर्वोच्चमा छलफल भइरहँदा पत्रकार घनश्याम खड्कालाई न्यायाधीश गिरीशचन्द्र लालले इजलासबाहिर पठाएका थिए । त्यसको दोस्रो दिनदेखि पत्रकारहरूलाई इजलास प्रवेशमा रोक लगाइएको थियो ।
सर्वाेच्चले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालती रिपोर्टिङ गर्ने पत्रकारलाई दिइएको पास अस्थायी भएका कारण स्थायी व्यवस्था गर्न लागिएको र त्यसको जानकारी यसअघि नै गराइएको जिकिर गरिए पनि कानुन तथा संवैधानिक पत्रकार मञ्चले भने जानकारीविना नै इजलास प्रवेशमा रोक लगाएको बताएको छ ।

प्रतिक्रिया