विश्व प्रेस स्वतन्त्रता दिवस

KB-Mashalविश्मा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा कनाउँदै आएको हो । नेपालको अन्तरिम संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हतियार शान्तिपूर्वक भेला हुने अधिकार, राजनीतिक दल खोल्ने, संघ/संस्था खोल्ने, आवतजावत गर्ने, बसोबास गर्ने, कुनै पेसा, रोजगार, उद्योग, व्यवसाय गर्ने स्तन्त्रताको ग्यारेन्टी गरेकोछ । नेपाल पत्रकार महासंघले यो वर्षको प्रेस स्वतन्त्रता दिवसको नारा संविधानसभाको निर्वाचनमार्फत लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान तय गरेको छ ।
नेपालमा प्रेसको इतिहासमा गोरखापत्र नै पहिलो समाचारमुलक पत्रिका हो । राणा प्रधानमन्त्री देव शमशेरले वि.स. १९५८ वैशाख २४ गतेबाट गोरखापत्र प्रकाशनको सुरुआत गरेका थिए । साप्ताहिक पत्रिकाबाट सुरु भएको गोरखापत्र वि.स. २००० देखि हप्ताको दुईपटक र २००३ पुसदेखि हप्ताको तीनपटक प्रकाशन हुन थालेको थियो । जनतालाई सुसूचित गराउने भन्दा पनि राणा शासनको गुनगान गाउने उद्देश्यले प्रकाशनमा आएको गोरखापत्रले वि.स. ०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशन थालेको हो । सूचना विभागको आ.व.०६८/६९ को तथ्यांकअनुसार अहिले नेपालमा ६३५० पत्रिकाहरू दर्ता भएका छन् । दर्ता भएका कुल पत्रिकामध्ये दैनिक ४०४ साप्ताहिक २०६७ र मासिक १७८९रहेका छन् । भने करिब ३०० भन्दा बढी एफएम रेडियो बज्न थालेका छन् । यसैगरी टेलिभिजन, अनलाईन, इमेल र इनटरनेटले पनि समाचार, विचार, भावना, सन्देश वा सूचनालाई आमसञ्चारमा पुर्‍याउने काम भएको छ । यसरी राणा कालदेखि सुरु भएको नेपालको प्रेसको इतिहासमा वर्तमान अवस्थासम्म आइपुग्दा सञ्चारगृहको विकास भए पनि प्रेस स्वतन्त्रताको अनुभूति भने सञ्चारकर्मीहरूले पाउन सकेका छैनन् ।
प्रेस स्वतन्त्रताको पक्षमा संगठित रूपमा आवाज उठाउने उद्देश्यले वि.स. ०१२ सालमा स्थापना भएको नेपाल पत्रकार संघले तत्कालीन समयमा पेसागत हकहित र पञ्चायती निरंकुशताको बाबजुध पनि स्वतन्त्र प्रेसको पक्षमा कलम चलाउँदै आएको संघ ०५३ मा संघको नाममा महा थप गरी नेपाल पत्रकार महासंघ भएको हो । छाता सस्थाको रूपमा सञ्चारकर्मी संगठित भएपछि सुरुकै दिनबाट नेपालका सञ्चारकर्मीले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन् । प्रेस स्वतन्त्रताका लागि आफ्नो जीवनको बलिदान दिने पत्रकार कृष्ण सेन, डेकेन्द्रराज थापा र उमा सिंहलगायत सञ्चारकर्मीको संख्या ३५ पुगेको छ । यो संख्या नेपाल पत्रकार महासघंको अभिलेखअनुसारको हो । यो अभिलेखमा ०५८ श्रावण ८ गतेदेखि २०६९ भाद्र २७ गतेसम्मको मात्र समावेश गरिएको छ । त्यसैगरी राज्य र विद्रोहीबाट ०५६ देखि ०६९ भदौसम्ममा ४ जना पत्रकारलाई बेपत्ता पारिएको छ । तर, पनि प्रेस स्वतन्त्रताको सवालमा परिवर्तनको संकेत देखिएको छैन । नेपालमा संविधानमानै प्रेस स्वतन्त्रताको संबोधन गरिएको छ । तर, व्यवहारमा प्रेस स्वतन्त्रता छैन । प्रेसमाथि हुने गरेको दमन र थुनछेकले संविधान माथिनै प्रश्नचिन्ह खडा गरिदिएको छ ।
मानवअधिकारको स्रोत मानिने प्रेस स्वतन्त्रता भएन भने मुलुक प्रजातान्त्रिक बन्न सक्दैन । जनताको सुसूचित हुने अधिकारको आधार भनेकै प्रेस स्वतन्त्रता हो । प्रेसले आफ्नो भूमिका स्वतन्त्रपूर्वक निर्वाह गर्न पाउनुपर्छ । ०४६ सालपछि राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको अपव्याख्या गरेको भने पाइँदैन । तर, व्यवहारमा भने तिनै दलहरू सत्तामा पुगेको बेला नेपाली प्रेसलाई अनेकौँ बाधा–अड्चन उब्जाएर दु:खदिने काम भएको धेरै उदारण छन् । पछिल्लो समयमा आएर राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वतन्त्र प्रेसको ग्यारेन्टी गरेका छन् । सिद्धान्तमा सबै राजनीतिक दलहरू प्रेसप्रति उदार देखिए पनि व्यवहारमा भने लागू गर्न सकेका छैनन् । पञ्चायती शासन कालदेखि वर्तमान अवस्थासम्म नेपाली सञ्चारकर्मीहरूले भोग्नुपरेका ज्याजदी, समाचरकै विषयमा ज्यान गुमाउनुपरेका घटना, आफ्नो गाउँघरबाट विस्थापित हुनुपरेको तीतो यथार्थता सबै किसिमको घटनामा यहाँका राजनीतिक दलहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा छायाँमा बसेर प्रेसप्रति दमन गरेका हुन्छन् । तर पनि औपचारिक कार्यक्रममा भने पूर्ण प्रेसको स्वतन्त्रताको वकालत भने गर्न छाड्दैनन् ।
राजनीतिक परिवर्तनले अहिले नेपालमा युद्ध र संकटकाल पनि छैन । हिजाको अवस्थामा युद्धमा लागेका दलहरूले पनि बहुदलीयता र प्रेस स्वतन्त्रतालाई स्वीकारी सकेको अवस्था छ । प्रेस सवतन्त्रताको विरोधी भनेको अधिनायकवादी, अपराधी र आतंकवादी हुने गर्छन् । मुलुक अहिले संक्रमणकालको अवस्थामा छ । संक्रमणकालीन अवस्थामा त्यस्ता व्यक्ति वा समूहहरूको अवशेष नभएको चाहिँ होइन । पत्रकारहरूको हकहितका लागि आवाज तथा प्रेस स्वतन्त्रताको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले राष्ट्रिय तथा अन्तर्राट्रिय निकायसँगको सह–कार्यमा पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षा र श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको सुनिश्चितताका लागि दबाबमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, पनि यस कार्यक्रमले समेत राज्यलाई पूर्ण रूपले प्रेस स्वतन्त्रता दिलाउन भने सकेको छैन ।
पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागेको नेपालमा १९ वर्ष भयो । द्वन्द्वको समयमा शाही शासनले ल्याएको सञ्चार नीति र स्वतन्त्र प्रेसका बारेमा त्यो समयलाई छाडेर हेर्ने हो भने सञ्चारकर्मीको अवस्था उस्तै छ । मेचीदेखि महाकालीका सञ्चारकर्मीहरू बेलाबखत समाचार लेख्ने कलम बन्दगरी हातमा प्लेकार्ड बोक्दै प्रेस स्वतन्त्रताका लागि आवाज उठाएका छन् । कहिले हातमा कालोपट्टी बाँधेर विरोध गरेका छन्, कहिले सञ्चारका सामग्री कागज, कलम, क्यामेरा र ल्यापटप सडकमा प्रदर्शन गरेर आन्दोलनमा उत्रिएका छन् । प्रेस स्वतन्त्रताका लागि गरिएका यस किसिमका आन्दोलनलाई सरकार आलटाल गर्ने र सञ्चारकर्मीका आवाजलाई पन्छाउने काममा व्यस्त छ । आवाजविहीनको आवाजलाई बाहिर ल्याउने राज्यको चौथो अंग मानिने सञ्चारकर्मीको प्रेस स्वतन्त्रताको मागलाई किन राज्यले बेवास्ता गरेको छ ? सञ्चारकर्मी किन यति असुरक्षित भएका छन् ? यसतर्फ राज्य रमिते मात्र बन्ने हो ? राज्यको कुनै दायित्व छैन ? यी सबै कुरा सञ्चारकर्मीले बुझिसकेका छन् । राज्यले प्रेस स्वतन्त्रताका बारेमा अझै पनि मौनता देखायो भने प्रेसलाई अब आवाजविहीनले साथ दिने छन् ।
प्रेस सबैका लागि आवश्यक पर्छ । बिना प्रेसको मुलुक कल्पना पनि गर्न सकिन्न । राज्यका तीन अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई झन् प्रेस नभैनहुने माध्यम हो । आवाजविहीनको आवाज मात्र होइन राजनीतिक दलहरूको आवाज पनि जनता र सरकार समक्ष पुर्‍याउने काम पनि प्रेसको नै हो । तर, प्रेसको आवाज भने राज्य सञ्चालन गर्ने दलहरूले सुन्ने परिपाटीको विकास नेपालमा हुन सकेन । प्रेस स्वतन्त्रताका लागि लामो यात्रामा लागेका सञ्चारकर्मीहरूको आवाज सुन्ने र उनीहरूको मागप्रति संवेदनशील हुनुको सट्टा दलहरूको संरक्षणमा गुन्डागर्दी प्रविधिलाई प्रयोगमा ल्याएर हुने गरेको प्रेसप्रतिको दमन अबका दिनमा सञ्चारकर्मीहरूले सहन सक्ने छैनन् । केवल औपचारिकतामा सिमित हँुदै आएको प्रेस स्वतन्त्रता दिवस स्वतन्त्र प्रेसका लागि निर्णायक हुन आवश्यक छ ।
जसले प्रेसलाई दमन गरेको छ जो सरकारमा रहँदा सञ्चारकर्मीको हत्या गरेको छ, त्यसले नै अहिले प्रेस स्वतन्त्रताको बारेमा ठूला कुरा गरेको छ । यस्ता व्यक्ति वा वर्गसँग प्रेस सजक हुन जरुरी छ । अहिलेको विश्व प्रेस स्वतन्त्रता दिवसले संसारभरका सञ्चारकर्मीलाई एक हुने पाठ सिकाओस् । प्रेस स्वतन्त्रताको माग निर्णायक विन्दुमा पुगोस् यही शुभकामना छ ।

प्रतिक्रिया