प्रहरीले ज्यादती गरेको भन्दै विरोध

बाग्लुङ : बाग्लुङ नगरपालिका–१, रामरेखाका बासिन्दाले प्रहरीले आफूहरूमाथि हातपात र ज्यादती गरेको भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बुधबार राति ८ बजे प्रहरीले अपशब्द बोल्दै महिला, बालबालिका र वृद्धवृद्धामाथि हातपात गरेको भन्दै विरोधमा उनीहरूले दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
ज्यादतीमा संलग्न प्रहरीमाथि तत्काल कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् । घटनामा संलग्नको पहिचान गरी तत्काल कारबाही नगरे थप संघर्षमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । राति लाइन गएको समयमा प्रहरीले अनावश्यक रूपमा घरको खानतलासी गरी घरमा बसेका महिला, बालबालिका तथा वृद्धलाई आतंकित बनाउँदै हातपात गरेकाले कारबाही माग गर्दै विरोधमा उत्रिएको स्थानीय टकबहादुर बोहोराले बताए । तर, प्रहरीले भने केही साताअघि भएको झगडाका आरोपी लुकेर बसेको जानकारीका आधारमा उनीहरूलाई पक्राउ गर्न खोजी गरिएको प्रस्ट पारेको छ । ‘पहिलेको विवाद र कुटपिटमा संलग्न व्यक्ति लुकेर बसेको थाहा पाएपछि हामी गएका हौँ,’ प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले भने, ‘स्थानीयले प्रहरीमाथि हातपात गरेपछि स्थिति असामान्य भएको हो ।’
केही साताअघि भएको झगडामा संग्लन भएको आरोपमा बुधबार बेलुका बानपा १ रामरेखाका सुवास बोहोरा, मिलन बोहोरा र पर्वत लेकफाँटका राजेन्द्र बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयलाई लिएर विवाद बढ्दै जान थालेपछि सिडिओ महादेव पन्थले सहमतिको प्रयास स्वरूप दुवै पक्षलाई छलफलका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया