गायक ढकालको घर लिलामीमा

ramkrishna_dhakalकाठमाडौं, २० वैशाख । बैंकबाट लिएको ऋण तिर्न आनाकानी गरेपछि लोकप्रिय गायक रामकृष्ण ढकालको घर लिलाम हुने भएको छ । श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाले ढकालको भैंसेपाटीस्थित घर लिलाम गर्न बिहीबार एक दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरेको छ ।

गायक ढकाल अहिले युरोपमा छन् । पारिवारिक स्रोतका अनुसार एक हप्ताअघि उनी सांगीतिक कार्यक्रमका लागि बेल्जियम गएका हुन् । त्यहाँबाट उनी जर्मनी, होल्यान्ड र फ्रान्स जाने कार्यक्रम छ । तीन महिनापछि मात्रै ढकाल स्वदेश फर्कने छन् ।
तर, सहकारीले दिएको ३५ दिनको म्यादभित्र ऋण चुक्ता नगरे उनी फर्कदा घरजग्गा भने लिलाम भइसक्नेछ । सहकारीले जारी गरेको सूचनाअनुसार ऋण चुक्ता नगरे आगामी २३ जेठमा ढकालको घरजग्गा लिलाम गरिनेछ । त्यसका लागि सहकारीले पुल्चोकस्थित आफ्नै कार्यालयमा दिउँसो १२ देखि ५ बजेसम्म बढाबढ गर्ने जनाएको छ ।
ढकालले तीन वर्षअघि घरजग्गा धितो राखी लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाबाट आफ्नी पत्नी निलमका नाममा एक करोड ऋण लिएका थिए । ऋण लिँदा ढकाल आपैँm जमानी बसेका थिए । सम्झौताबमोजिम समय–समयमा तिर्नुपर्ने साँवा, ब्याज, अतिरिक्त ब्याजलगायत अन्य दस्तुर तिर्न आनाकानी गरेपछि लिलामीको सूचना जारी गरिएको सहकारीले जनाएको छ ।
ढकालपत्नी निलम शाहको नाममा रहेको भैँसेपाटीस्थित कित्ता नम्बर ३८२ र ३८३ को ८७.४४.२००.७१ वर्गकिलोमिटर क्षेत्रफल जग्गा र त्यसमा बनेको घर धितो राखेर ऋण लिइएको हो ।
पटक–पटक ऋण लिएको रकम चुक्ता गर्न, नभए ब्याज मात्रै भए पनि बुझाउन ताकेता गर्दासमेत ढकालले बेवास्ता गरेका कारण घरजग्गा लिलामीमा राखिएको लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताए । ‘ऋण लिएको पहिलो वर्ष त केही ब्याज बुझाएर सम्पर्कमा समेत रहेका थिए तर, पछिल्ला केही वर्षदेखि उनी सम्पर्कविहीन छन्’, उनले भने । लामो समय लगाएर सम्पर्कमा कहिलेकाहीँ ल्याउँदा पनि उनले ऋण तिर्ने मनस्थिति नदेखाएको उनले बताए ।
ढकालको घरजग्गाको हालको मूल्य करिब दुई करोड बराबर हुन्छ । लालीगुराँसलाई तिर्नुपर्ने रकम भने डेढ करोड बराबरको मात्रै रहेको प्रमुख कार्यकारी निर्देशक भण्डारीले बताए । ‘यत्रो पुँजीको घरजग्गा लिलामी गर्नुभन्दा त ऋण तिर्नुस् भनेर पटक–पटक सम्झाउँदा पनि ढकालले वास्ता नगरेकोले धितोबाट संस्थाको रकम असुलिने देखेर लिलामी प्रक्रिया थालिएको हो’, भण्डारीले भने । संस्थालाई डेढ करोड तिर्नुपर्ने भए पनि ढकालले ‘एक करोडभन्दा एक पैसा बढी नतिर्ने’ अड्डी राख्दै आएको पनि भण्डारीले बताए ।
ऋण लिएको रकम चुक्ता गर्न मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कुनै चासो नदेखाएको भन्दै १ चैत ०६९ मा सहकारीले दैनिक पत्रिकामा २१ दिने सूचनासमेत जारी गरेको थियो । त्यो सूचनाको पनि ढकालले वेवास्ता गरेपछि बिहीबार पुन: ३५ दिने लिलामी सूचना प्रकाशित गरिएको हो । लिलामी बढाबढबाट कर्जा असुल नभए ऋणी तथा जमानीको नाउँमा रहेको अन्य चल–अचल सम्पत्तिबाट समेत असुल गरिने सहकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
गायक ढकालकी पत्नी निलमले भने सहकारीले नै वेवास्ता गरेका कारण ऋण नतिरेको दाबी गरिन । ‘हामीले बसौँ हिसाबकिताब के–कस्तो छ भनेर पटक–पटक भनेका थियौँ । तर, उनीहरूले नै चासो नदिएपछि नतिरेका हौँ’, उनले सौर्यसित भनिन् ।

प्रतिक्रिया