अन्तरजातीय जोडी लखेटिए

Antarjatiya-bibahaनुवाकोट, १९ वैशाख । राज्यले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन कार्यक्रम ल्याएका बेला नुवाकोटका एक अन्तरजातीय जोडी भने गाउँबाट निकालिएका छन् । उनीहरूलाई आफन्त र गाउँलेले गाउँ निकाला गरेका हुन् । लखेटिएका उनीहरू अहिलेसम्म गाउँ फर्किन सकेका छैनन् । सदरमुकाम विदुरसँग जोडिएको खानीगाउँ–५, लब्धुकी १७ वर्षीया संगीता राईले रालुकादेवी–७ का १६ वर्षीय राजु विकसँग विवाह गरेपछि उनीहरूलाई गाउँ निकाला गरिएको हो ।

लब्धुका तुलबहादुर विकको घरमा विगत तीन वर्षदेखि काम गर्दै आएका राजुसँग गत ५ चैतमा राईले विवाह गरेकी थिइन् । नारायणदेवी उमावि खानीगाउँमा कक्षा–८ मा पढ्दै गरेकी राईको घरनजिकै बस्ने राजुसँग प्रेम भएपछि उनीहरूले लगनगाँठो कसेका थिए । विवाह पश्चात् गाउँबाट भागेर हिँडेका उनीहरू गत बिहीबार गाउँ फर्केका थिए । जोडी गाउँ फर्किएको थाहा पाएपछि राई समुदायका केही व्यक्ति र गाउँलेले शनिबार दिउँसो खेदेका थिए । रीतिरिवाज र धर्मविपरीत विवाह गरेको भन्दै गाउँलेले ‘उनीहरूलाई समाजमा राख्न हुँदैन, लखेटेर डाँडा कटाउनुपर्छ’ भन्दै खेदेका थिए । ‘गाउँमा अलच्छिन लाग्यो, गाउँ छोडिहाल’ भन्दै चिच्याउँदै गाउँका युवा, वृद्धवृद्धा, बालबालिकादेखि केही शिक्षितसमेतले करिब आधा घन्टासम्म जोडीलाई लखेटेर गाउँबाट धपाएका थिए । खेदाउनेमा स्थानीय शिक्षकसमेत थिए । जुत्ताचप्पल हातमा लिएर टिन बजाउँँदै गाउँले जोडीलाई तादी नदी कटाएका थिए । जोडीमाथि केहीबेर ढुंगामुढासमेत वर्सिएको थियो । भागेका जोडी कहिल्यै खोला तरेर गाउँ नआउन भनेर भनेर गाउँले खोलामा पालैपालो पहरा दिने गरेका छन् ।

प्रतिक्रिया