पार्टीमा भित्र्याउन एमालेले पाँच समूह बनाएर छलफल गर्दै

UML-party-office-ST_2012062काठमाडौं, १९ वैशाख । अन्य पार्टीका नेता/कार्यकर्ता आफ्नोमा भित्र्याउन एमालेले विभिन्न पाँच प्रकारका समूह निर्धारण गरी संवाद अघि बढाएको छ । विगतमा पार्टी छोडेकालाई पार्टीमा फर्काउन र अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन गठित कार्यदलले सम्भावित सबैसँग एकसरो संवाद गरिसकेको र व्यवस्थापकीय काम बाँकी रहेको जनाएको छ ।

एमालेका अनुसार विगतमा एमाले छाडेर स्वतन्त्र बसेका, एमाले छाडेर एमाओवादीमा गएका तर त्यहाँ पनि असन्तुष्ट रहेका, एमाओवादी नेतृत्वमा रहेका तर पछिल्लो समय त्यसले लिएको कार्यदिशामा समर्थन जनाउनुभन्दा एमाले नै ठीक छ भन्ने नेता, विभिन्न स–साना राजनीतिक समूह र पूर्वप्रशासक/कर्मचारी, कलाकार आदिलाई समूह छुट्याएर पार्टी प्रवेश गराउन छलफल गरिएको थियो ।
पहिलो चरणमा पाँच वटै समूहसित छलफल भइसकेको एमालेले जनाएको छ । उनीहरूसितको संवाद सकारात्मक भएको भन्दै एमाले नेतृत्व उत्साही पनि रहेको छ । सबै पक्षसँगको संवाद निष्कर्षमा पुगेपछि आगामी जेठको अन्तिमसम्म पार्टी प्रवेश र एकताको सामुहिक घोषणा गर्ने तयारीमा एमाले छ ।
स्रोतका अनुसार पार्टी छोडेर एमाओवादीमा लागेका तर पछिल्लो समय असन्तुष्ट रहेका समेत गरेर एमाओवादीका केही केन्द्रीय सदस्यसँग पनि संवाद अघि बढेको छ । पार्टी प्रवेशका लागि पाँच वटै समूहसितको संवाद टुंगिएपछि सामुहिक घोषणासभा गर्ने तयारी भएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सौर्यलाई बताए ।
‘पार्टी छोडेर स्वतन्त्र बसेका, माओवादीमा प्रवेश गरी असन्तुष्ट रहेका पूर्वएमालेहरू र विगतदेखि नै माओवादीको नेतृत्वमा रहेका तर पछिल्लो कोर्षमा आउनु थियो भने एमाले नै ठीक रहेछ भन्ने एमाओवादीका नेताहरूसँग संवाद भइरहेको छ’ ज्ञवालीले भने, ‘विभिन्न राजनीतिक समूह र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित पूर्वप्रशासक, पूर्वसचिव, बुद्धिजीवी र कालाकारहरूसँग पनि कुरा भइरहेको छ ।’
स्रोतका अनुसार पूर्वी नेपालमा यसअघि सशस्त्र समूहको नेतृत्व गरेको किराँत वर्कर्स पार्टी र तराईमा हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउने चाहना राखेका केही समूहसँग पनि एमालेले संवाद अघि बढाएको छ । उनीहरूको हतियार बुझाउने प्रक्रिया र पार्टीभित्र आन्तरिक जिम्मेवारी व्यवस्थापनको कुरा टुंग्याएपछि एकता घोषणा गर्ने तयारीमा एमाले छ ।
पार्टी छोडेर माओवादीमा लागेका र स्वतन्त्र बसेका केही नेताबाहेक एमालेले पार्टी प्रवेश गर्नेहरूको नाम भने गोप्य राखेको छ । स्रोतका अनुसार एमाओवादीका केन्द्रीय सल्लाहकार रहेका राधाकृष्ण मैनाली, एमाले छोडेर स्वतन्त्र रहेका देवीप्रसाद ओझा, एमाओवादीको केन्द्रीय कमिटीमा जिम्मेवारी लिएका पूर्वमन्त्री भीमबहादुर कडायत र जितवीर लामालगायतसँग एमालेले संवाद अघि बढाएको छ । मैनालीले त गतसाता भएको एमालेको रामकोट गाउँ अधिवेशनमा संवोधनसमेत गरेका थिए ।
पार्टी प्रवेशका लागि गठित कार्यदलका सदस्य तथा एमाले सचिव शंकर
पोखरेलका अनुसार जेठ महिना भित्र एमालेले धेरै व्यक्तिलाई सामुहिक रूपमा पार्टीमा भित्र्याउनेछ । ‘छलफलहरू सकारात्मक रूपले अघि बढेका छन् तर सबै कुरा टुंगिएको छैन’ पोखरेलले सौर्यसँग भने, ‘व्यवस्थापन गर्नुपर्ने कतिपय विषय टुंग्याएपछि जेठको अन्तिमसम्म घोषणा हुन्छ ।’
एमालेले यसअघि २४ चैतमा पार्टी प्रवेश र एकताका लागि सबै पक्षलाई सम्बोधन गरी आह्वान गरेको थियो । जनआन्दोलनका उपलब्धिहरू धरापमा पर्दै गएको र राष्ट्रियतासमेत जोखिममा पर्दै गएको भन्दै एमालेले सबैखाले हिंसा र अधिनायकवादको विरोध गर्ने समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक आर्थिक रूपान्तरण, अग्रगामी परिवर्तन, सामाजिक सद्भाव र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिहरूको प्रभावशाली नेतृत्व निर्माण गर्न आह्वान गरेको थियो ।
उसले विगतको संविधानसभामा हिंसा, अधिनायकवाद र निषेधको मान्यता बोकेको एमाओवादी पहिलो शक्तिका रूपमा अगाडि आउनु र नवउदारवादी तथा यथास्थितिवादी मान्यता बोकेको कांग्रेसबाट माओवादी अतिवादको सही प्रतिवाद हुन नसकेको बताउँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा एमालेको प्रयासले बाञ्छित सफलता पाउन नसकेको दाबी गर्दै एमालेलाई सही विचार बोकेको प्रभावशाली नेतृत्वका रूपमा खडा गर्न आह्वान गरेको थियो ।
एमाले कमजोर हुँदा हिंसा र अधिनायकवादी, परिवर्तन विरोधी र बिखण्डनवादी शक्तिहरू बलियो हुने समयक्रमले पुष्टि गरेको उल्लेख गर्दै एमालेले परिवर्तन संस्थागत गर्न, राष्ट्रिय एकता र स्वाधिनता सुनिश्चित गर्न एमालेलाई बैचारिक मात्रै होइन भौतिक र संगठनात्मक हिसाबले पनि पहिलो शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएको थियो । राष्ट्रमाथिको संकट हटाउन र बिखण्डनबाट जोगाउन एमालेलाई सुदृढ गर्नुपर्ने वोध गरेर एकता अभियान अघि बढाएको प्रचार विभाग प्रमुख ज्ञवालीले बताए ।
यसअघि विगतमा पार्टी छोडेका र महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका पुराना नेता कार्यकर्तालाई पार्टीमा फर्काउन र वामपन्थी समूहहरूसँग संवाद गरी एकता गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिव शंकर पोखरेल र युवराज ज्ञवाली, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ र धर्मनाथप्रसाद साह रहेको कार्यदल बनाएको थियो ।
कस्ता समूह बनाएर छलफल हुँदै छ ?

१. एमाले छाडेर स्वतन्त्र बसेका
२. एमाओवादीमा गएका तर त्यहाँ पनि असन्तुष्ट रहेका
३. एमाओवादी नेतृत्वमा रहेका तर पछिल्लो समय त्यसले लिएको कार्यदिशामा समर्थन जनाउनुभन्दा एमाले नै ठीक छ भन्ने
४. विभिन्न स–साना राजनीतिक समूह
५. पूर्वप्रशासक/कर्मचारी, बुद्धिजीवी, कलाकार आदि

प्रतिक्रिया