स्वास्थ्यकेन्द्र एक महिनादेखि डाक्टरविहीन

देउखुरी, १८ वैशाख । बेला–५ गैराका सोमप्रसाद चौधरी छोरीको उपचारका लागि मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा आए । उनले छोरीको उपचार गराउन डाक्टर खोजे । तर, डाक्टर भेटिएनन् । उनले छोरीको स्वास्थ्य अवस्था त्यहीँ कार्यरत सिनियर अहेवलाई देखाए ।

डाक्टरको खोजीमा गाउँ–गाउँबाट स्वास्थ्य केन्द्र पुग्ने जो–कोहीले पनि एक महिनादेखि सेवा पाउन सकेका छैनन् । ‘डाक्टर खोइ भनेर सोध्दा हुनुहुन्न भने,’ सोमप्रसादले भने, ‘गाउँबाट डाक्टर खोज्दै आइयो । डाक्टर नभेटिएपछि अन्य स्वास्थ्यकर्मीसमक्ष जाँच गरायौँ ।’ देउखुरीको एक मात्र प्राथमिक स्वास्थ्यकेन्द्र एक महिनादेखि डाक्टरविहीन छ । स्वास्थ्यकेन्द्रमा डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन् । अहिले स्वास्थ्यकेन्द्र सिनियर अहेवको भरमा चलिरहेको छ । पूर्व–पश्चिम राजमार्गले स्वास्थ्यकेन्द्रलाई छोएकाले यहाँ दुर्घटना, सर्पदंशलगायत अन्य समस्या भएका बिरामी आकस्मिक उपचारका लागि बढी आउने गर्छन् । ११ गाविसलाई समेटेको स्वास्थ्यकेन्द्रमा उपचारका लागि दिनहँु सयभन्दा बढी बिरामी आउने गर्छन् ।
‘डाक्टर नहुँदा स्वास्थ्यकेन्द्रबाट रिफर गर्ने क्रम बढेको छ,’ स्वास्थ्यकेन्द्रका एक कर्मचारीले भने, ‘रिस्क मोलेर कति जनाको उपचार गर्नु ?’ डाक्टर नहुँदा स्वास्थ्यकेन्द्र हेल्थ असिस्टेन्टको भरमा चलेको छ । प्राथमिक स्वास्थ्यकेन्द्रमा आठाँै तहको डाक्टर हुनुपर्ने प्रावधान छ । त्यसैगरी, एक हेल्थअसिस्टेन्ट र आवश्यताअनुसार नर्स हुनुपर्ने व्यवस्था छ । नियमानुसार डाक्टरले सेवा दिनुपर्ने भए पनि स्वास्थ्यकेन्द्र लमहीमा डाक्टर नभएको एक महिनाभन्दा बढी भइसकेको छ । सेवा दिँदै आएका डाक्टर रोशन थापा श्रेष्ठको कार्यअवधि सकिएकाले गत ६ चैतदेखि डाक्टरविहीन बनेको हो । नियमानुसार प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टरलाई दुई वर्ष सेवा गर्ने अवधि दिइएको हुन्छ ।
डाक्टर नहुँदा प्राथमिक स्वास्थ्यकेन्द्रले बिरामीलाई बाहिर रिफर गर्दै आएको छ । सामान्य बिरामीलाई आफूहरूले हेर्दै आए पनि जटिल समस्या भएका बिरामीलाई भने तत्काल रिफर गर्ने गरेको प्राथमिक स्वास्थ्यकेन्द्र लमहीका सिनियर अहेव रुपनारायण चौधरीले बताए । ‘डाक्टरले हेर्ने सबै बिरामीलाई हामी हेर्न सक्दैनाँै,’ चौधरीले भने, ‘सामान्य बिरामीलाई मात्रै हेर्छाैं, जटिल समस्याका बिरामीलाई तत्काल रिफर गर्नुको विकल्प छैन ।’
प्राथमिक स्वास्थ्यकेन्द्रले बिरामीको अवस्था हेरेर घोराही, बुटवल तथा नेपालगन्जका अस्पतालमा रिफर गर्ने गरेको छ । उनले सबैभन्दा समस्या पोस्टमार्टमका लागि हुने गरेको बताए । प्राथमिक स्वास्थ्यकेन्द्रमा पोस्टमार्टमका लागि ल्याइने शवलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पठाउने गरिएको उनले बताए ।

प्रतिक्रिया