दुई देशीयपछि मात्रै त्रिदेशीय साझेदारी : भारतीय प्रधानमन्त्री

prachanda+manamohanकाठमाडौ, १८ वैशाख । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपाल र भारतबीचको दुई देशीय साझेदारी बलियो भएपछि मात्रै चीनसहितको त्रिपक्षीय साझेदारी सम्भव हुने बताएका छन् । मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसितको भेटमा उनले यस्तो बताएका हुन् ।

एमाओवादी अध्यक्ष दाहालले यसअघि चीन भ्रमणका क्रममा त्यहाँको नेतृत्वसमक्ष त्रिदेशीय साझेदारीको प्रस्ताव राखेका थिए । भारत भ्रमणका क्रममा पनि उनले सोही प्रस्ताव दोहोर्‍याएपछि भारतीय प्रधानमन्त्री सिंहले द्विपक्षीय साझेदारी अभिवृद्धि गरेपछि मात्रै त्रिदेशीय साझेदारीमा कुरा गर्ने जनाएका हुन् ।
एमाओवादीले हेटौंडा महाधिवेशनपछि लिएको प्रगतिशील राष्ट्रवाद र आर्थिक उत्पादनको अवधारणालाई समर्थन गर्दै प्रधानमन्त्री सिंहले त्यसका लागि भारत सहयोग गर्न तयार रहेको बताएका थिए । उनले नेपालमा लोकतन्त्र विकासका लागि दलहरूको सहमतिका आधारमा आगामी मंसिरभित्रै संविधानसभाको चुनाव हुनुपर्नेमा जोड दिँदै निर्वाचनका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री सिंहले शान्तिप्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेकोमा अध्यक्ष दाहाललाई बधाई दिएका थिए । उनले संविधानसभामार्फत नयाँ संविधान लेखेर नेपालको लोकतन्त्र बलियो बनाउन शुभकामना दिएको भेटपछि अध्यक्ष दाहालले बताए ।
भेटवार्तामा अध्यक्ष दाहालले भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न आफूहरू संवेदनशील भएको भन्दै नेपालको भूमि प्रयोग गरेर हुने सबैखाले भारतविरोधी गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पछिल्लो लामो समयदेखि भारतबाट प्रधानमन्त्री तहको नेपाल भ्रमण नभएको भन्दै अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । जवाफमा सिंहले नेपाल आउन इच्छुक रहेको बताएका थिए । उपयुक्त समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको रेसकोर्स रोडस्थित निवासमा  झन्डै ३५ मिनेट भएको भेटवार्तामा एमाओवादी नेता  कृष्णबहादुर महरा र भारतको तर्फबाट प्रधानमन्त्रीका
सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेश मिश्र र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी थिए ।
अध्यक्ष दाहालले मंगलबार नै भारतीय विदेशमन्त्री सलमान खुर्सिदसित पनि भेटवार्ता गरेका छन् । नेपालमा राजनीतिक स्थायित्व र विकास हेर्न भारत लालायित रहेको खुर्सिदले बताएका छन् ।
भेटवार्तापछि विदेशमन्त्री खुर्सिदले नेपालबाट भारतविरुद्ध गतिविधि नहोस् भन्ने कुरा आफूहरूले स्पष्ट ढंगले राखेको बताए । उनले त्रिपक्षीय साझेदारीको विषयमा कुनै कुराकानी नभएको बताए ।

प्रतिक्रिया