दोस्रो खेलमा पनि नेपाल पराजित

basanta_regmiकाठमाडौं, १८ वैशाख । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री २०१३ बाट माथि उक्लेर विश्वकप २०१५ का लागि क्वालिफाइङ चरणमा झण्डा गाड्ने महत्त्वाकांक्षी अभियान सँगालेर बर्मुडा पुगेको नेपाली टोलीले सोचेअनुसारको प्रदर्शन गर्न नसक्दा उदीयमान क्रिकेट क्रेजी देशका क्रिकेट पण्डितहरू उदेक मान्न थालेका छन् । आफ्नो पहिलो म्याचमा अमेरिकाविरुद्ध पराजित भएको नेपाल उही समरसेट क्रिकेट ग्राउन्डमा सोमबार दोस्रो म्याचमा युगान्डाविरुद्ध पनि हारको सामना गर्न पुग्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४४.२ ओभरमा अलआउट हुँदै दिएको ११७ रनको झिनो विजय लक्ष्य युगान्डाले २३ ओभरको खेल बाँकी छँदै केबल ४ विकेटको नोक्सानीमा हासिल गर्‍यो ।
म्याचको पूरा समय नेपाल खेलको कुनै पनि पक्षमा कतैबाट युगान्डाको समकक्षमा त के, छेउछाउ पनि देखिएन । नेपाली ब्याट्सम्यानका लागि युगान्डन बलर झन्डै खेल्नै नसकिने जस्ता देखिएका थिए । सर्वाधिक २४ रन बनाएका प्रदीप ऐरी, २१ रन बनाउने शक्ति गौचन, १८–१८ बनाउने विनोद भण्डारी र पृथु बाँस्कोटा र १० रन बनाउने ज्ञानेन्द्र मल्लबाहेकका ६ जना खेलाडीले त दोहोरो अंक पनि छुन सकेनन् ।
सुवास खकुरेल ५ रन, कप्तान पारस खड्का ६, शरद भेषवाकर ०, वसन्त रेग्मी ४ र अमृत भट्टराई ० रनमा आउट भए भने चन्द्र साउद ३ रनमा नटआउट रहे । नेपालले ७ अतिरिक्त रन पायो ।
पहिलो विकेटका लागि सुवास र प्रदीपले ३३ रनको साझेदारी गरी कडा चुनौती दिन सकिने संकेत गरेका थिए । तर, सातौँ ओभरको दोस्रो बलमा सुवास आउट भएपछि मानौँ नेपाली ब्याट्सम्यानलाई पेभेलियन फर्किन हतार लाग्न थाल्यो । नेपालको दोस्रो विकेट पनि ३३ रनमै खस्यो जतिबेला प्रदीप आउट भए । अनि त नियमित अन्तरालमा विकेट ढल्ने क्रम अगाडि बढ्दै रह्यो । शक्तिले ८३ बलको सामना गर्दै इनिङलाई अझ छिटो समाप्त हुनबाट रोकेका थिए । उनले २१ रन बनाएकोमा एउटै बाउन्ड्री थिएन । पाँच नम्बरमा ब्याटिङ गर्न गएका शक्ति अन्तिम विकेटका रूपमा आउट भएका थिए ।
म्यान अफ दि म्याच घोषित युगान्डेली बलर डिके अरिनायत्वे सबैभन्दा खतरनाक सावित भए । उनले ९.२ ओभरमा १२ रन दिएर ३ विकेट लिए । त्यसैगरी एफ एन्सुबुगाले १० ओभर २५ रन ३ विकेट, सी वैश्वले १० ओभर १६ रन १ विकेट, बी मासाबाले ८ ओभर २९ रन २ विकेट र एच सेन्योन्डाले २ ओभर ७ रन १ विकेट हात पारे । आर मुसाका ८ ओभरमा २५ रन खर्चेर विकेटलेस रहे ।
विजयलक्ष्य पछ्याउने क्रममा केवल २.६१ रन प्रतिओभरभन्दा केही मात्र बढीको चुनौती पाएको युगान्डाका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आर मुकासाले ७४ बलमा नटआउट ४९ रन बनाउँदै जितलाई ‘केटाकेटीको खेल’ जस्तो बनाइदिए । उनलाई ए क्योबेले १८, बी मुसोकेले २२, एल सेमातिम्बाले १६ र नेपाली टिमबाट प्राप्त ७ वाइडसहितको अतिरिक्त ९ रनले पूरापूर साथ दिएका थिए ।
युगान्डाको पहिलो विकेट १२ र दोस्रो २२ रनमा ढले पनि तेस्रो विकेटका लागि मुकासा र मुसोकेबीच ५८ रनको महत्त्वपूर्ण साझेदारी भएपछि म्याच लगभग नेपालको हातबाट फुत्किइसकेको थियो । मुकासाले फेरि सेमातिम्बासित मिलेर चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।
नेपाली बलरमध्ये वसन्त रेग्मी सर्वाधिक सफल रहे । उनले ९ ओभरमा ३३ रन दिएर २ विकेट लिए । अमृत र चन्द्रले पनि एक–एक विकेट लिए । शक्ति यो म्याचमा सबैभन्दा महँगा सावित भए, उनले ४ ओभरमा २६ रन दिए र विकेटलेस रहे । पारसले ३ ओभरमा १२ रन खर्चेका थिए ।
नेपाललाई ९४ रनको भारी अन्तरले पराजित गरेको अमेरिकाले आफ्नो दोस्रो म्याचमा इटालीलाई ७४ रनले हरायो । २५५ रनको विजयलक्ष्य पछ्याएको इटाली ४५.३ ओभरमा १८० रनमा अलआउट भएको थियो । त्यसैगरी बर्मुडा र ओमानबीच भएको म्याचमा बर्मुडा ३४ रनले विजयी भयो । १९५ रनको विजयलक्ष्य पछ्याएको ओमान ४१.५ ओभरमा १६० रनमा अलआउट भएको थियो । पहिलो दिन भएका खेलमा ओमानले इटालीलाई ७ विकेटले र युगान्डाले बर्मुडालाई ११४ रनले पराजित गरेका थिए ।
नेपालले अब बुधबार बर्मुडाविरुद्ध, बिहीबार ओमानविरुद्ध र शनिबार इटालीविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया